नेपाली कबड्डीमा व्यावसायिक लिग सुरु गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनलाई दर्ता भएका ५ सय १२ खेलाडीमध्ये प्राविधिक टोलीको छनोटका आधारमा १ सय ८० खेलाडी प्लेयर ट्रायलमा परेका हुन् ।
काठमाडौँ — त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनका लागि ‘प्लेयर ट्रायल’ आइतबार सुरु भएको छ । एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी प्रतिस्पर्धामा छन् ।
नेपाली कबड्डीमा व्यावसायिक लिग सुरु गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनलाई दर्ता भएका ५ सय १२ खेलाडीमध्ये प्राविधिक टोलीको छनोटका आधारमा १ सय ८० खेलाडी प्लेयर ट्रायलमा परेका हुन् । दुई दिने ट्रायलको पहिलो दिन ९० खेलाडीले प्रतिस्पर्धा गरे ।
प्लेयर ट्रायलमा राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम मगर (काठमाडौं मारभिक्सका मार्की र एनकेएल पहिलो सिजनका सर्वोत्कृष्ट खेलाडी), महिला टिमकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा, विराटनगर ब्यान्ड्सिटका कप्तान कल्याण भुजेलको सक्रिय सहभागिता छ । ड्राफ्मा स्थान बनाउन पूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।
एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गर्ने एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।
