खाँदबारी रंगशालामा जारी प्रतियोगितामा संखुवासभासहित पूर्वी नेपालका आठ टिम सहभागी छन्।
संखुवासभा — खाँदबारी रंगशालामा शनिबारबाट सुरु भएको तेस्रो तीनपोखरी कप फुटबल प्रतियोगितामा बलियाे मानिएको एपीएफ पकली र आयोजक तीनपोखरी क्लब पहिलो चरणबाटै बाहिरिएका छन्।
एपीएफ पकलीलाई पराजित गर्दै संखुवासभाको शित्तलपाटी फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ।
खेलको दोस्रो हाफमा शित्तलपाटीले प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। दोस्रो हाफको ५ औं मिनेटमा सुवास तामाङले गोल गर्दै अग्रता दिलाए भने ९औं मिनेटमा महेन्द्र लिम्बु ले कर्नर किकको सदुपयोग गर्दै दोस्रो गोल थपे।
शनिबार भएको अर्को खेलमा आयोजक तीनपोखरी क्लबको यात्रा पनि पहिलो चरणमै टुंगिएको छ।
उनीहरूलाई मकालु फ्रेन्ड्स क्लबले २–० गोल अन्तरले पराजित गर्यो। मकालु फ्रेन्ड्सका रोषण आचार्यले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २७औँ मिनेटमा जीवन मास्केमगरले गोल थप्दै जित सुनिश्चित गरे।
खाँदबारी रंगशालामा जारी प्रतियोगितामा संखुवासभासहित पूर्वी नेपालका आठ टिम सहभागी छन्। प्रतियोगितामा चुलाचुली स्पोर्टिङ क्लब (झापा), बेलका युथ क्लब (उदयपुर), एपीएफ पकली (सुनसरी) सहित खाँदबारी युथ क्लब, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स क्लब, शित्तलपाटी युथ क्लब र आयोजक तीनपोखरी क्लब सहभागी छन्।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५१ हजार रुपैयाँ तथा उपविजेता टिमले १ लाख २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने छ।
