१० किमि म्याराथनमा श्रीजंग गणका सिपाही वली प्रथम

पाँच हजार मिटरको वाकाथान प्रतियोगितासमेत उक्त अवसरमा आयोजना गरिएको थियो । जसमा विभिन्न सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।

पुस २६, २०८२

शंकर आचार्य

Soldier of Srijang Regiment wins first place in 10 km marathon

What you should know

पर्सा — नेपाली सेनाको श्रीजंग गण वीरगन्जले पर्सागढी नगरपालिकास्थित ऐतिहासिक युद्धस्थल पर्सागढीमा ३ सय ४ औं पृथ्वीजयन्तीको अवसरमा शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ । १० किलोमिटर खुल्ला दौड र छात्र–छात्राको  पाँच किलोमिटर छुट्टाछुटै दौड प्रतियोगिता आयोजना गरिएको हो ।

१० किलोमिटरको खुल्ला दौड प्रतियोगितामा श्रीजंग गणका सिपाही लीलाराम वली प्रथम, सोही गणका सिपाहीद्वय सर्जन राउत र पुष्प अछामी द्वितीय र तृतीय भएका छन् ।

पाँच किलोमिटरको छात्रतर्फको दौड प्रतियोगितामा नेपाल राष्ट्रिय मावि बर्डेवाका निरज चौधरी प्रथम, नेपाल राष्ट्रिय मावि बरुवा छटौलीका गोलु सहनी द्वितीय र सोही विद्यालयका अंकेश सहनी तृतीय भए ।

छात्रातर्फको पाँच हजार मिटर दौडमा नेपाल राष्ट्रिय मावि बर्वा छटौलीकी काजल सहनी प्रथम, सोही विद्यालयकी नन्दनीकुमारी पटेल द्वितीय र सिद्धार्थ मावि वीरगञ्जकी अञ्जुकुमारी पटेल तृतीय भइन् ।

पाँच हजार मिटरको वाकाथान प्रतियोगितासमेत उक्त अवसरमा आयोजना गरिएको थियो । जसमा विभिन्न सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो । विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए । नेपाली फौजको नेतृत्व रञ्जित चौधरीले गरेका थिए ।

श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई सम्मानस्वरुप विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल,पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, श्रीजंग गणका गणपति कार्की र सशस्त्र प्रहरी बल पर्साका गणपति पुरनचन्द्र भट्ट लगायतले विजेताहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully