शेरबहादुर खड्का स्मृति भलिबलमा न्यु डायमन्ड च्याम्पियन

शनिबार प्रतियोगिताको फाइनलमा न्यु डायमन्डले निकट प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर उपाधि जितेको हो ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

What you should know

काठमाडौँ — न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

शनिबार प्रतियोगिताको फाइनलमा न्यु डायमन्डले निकट प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर उपाधि जितेको हो । न्यु डायमन्ड दोस्रो पटक च्याम्पियन बन्यो । यसअघि टोली सातौं संस्करण जितेको थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनल साबिक विजेता पुलिसले २५–२२, २५–१८, १५–२५, २७–२५ ले सेट गुमाएको थियो । लगातार दुई सेट जितेर विजयतर्फ लम्किएको न्यु डायमन्डले तेस्रो सेटमा लय समात्न सकेन । पुलिसले डायमन्डलाई १५ अंकमै रोक्दै सेट आफ्नो पक्षमा पारेर पुनरागमन गरेको थियो । चौथो सेटमा पुलिसले आफ्नो अग्रता फराकिलो बनाइसकेको अवस्थामा न्यु डायमन्ड खेलमा फर्कियो । अपोजिट हिटर प्रतिभा माली, सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीले लगातार अंक लिएपछि न्यु डायमन्डले कडा प्रतिस्पर्धा झेल्दै खेलमा आफ्नो पक्षमा पारेको थियो ।

New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

एक साताअघि सम्पन्न एनभीए क्लब च्याम्पियनसिपको फाइनलमा पनि पुलिसलाई हराएर न्यु डायमन्डले उपाधि जितेको थियो । च्याम्पियन बन्ने क्रममा दुवै प्रतियोगितामा न्यु डायमन्ड अपराजित रह्यो ।

New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

अस्ट्रेलियाबाट फर्केकी सिनियर खेलाडी प्रतिभा मालीको आगमनले न्यु डायमन्ड बलियो स्थितिमा देखिएको थियो । फाइनलमा प्रतिभाले सर्वाधिक २५ अंक बटुल्दा स्पाइकबाटै १९ अंक जोडेकी थिइन् । सुमित्राले १५ र सलिनाले १४ अंक लिएका थिए । पुलिसका लागि पुनम चन्दले सबैभन्दा धेरै २१, उषा भण्डारीले २० र रिमा कुँवरले ८ अंक जोडेका थिए । स्पाइकबाट पुनमले २० र उषाले १७ अंक लिएका हुन् । न्यु डायमन्डकी प्रगति नाथ फाइनलकी प्लेयर अफ द म्याच घोषित भइन् ।New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

लिग चरणमा विजेता न्यु डायमन्डले त्रिभुवन आर्मीलाई ३–०, एपीएफलाई ३–२ र पुलिसलाई ३–२ सेटले हराएको थियो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बहुराष्ट्रिय पेन्ट्स कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा आयोजना गरेको प्रतियोगितामा सुरुका ६ संस्करणको उपाधि विजेता एपीएफ क्लबले तेस्रो स्थानमा सीमित भयो । शनिबारै एपीएफले आर्मीलाई २५–१३, २५–२३, २५–१८ को सोझो सेटमा हराएको थियो । एपीएफकी मीना सुनार प्लेयर अफ द म्याच भइन् ।

New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट चुनिइन् । प्रतिभाले ५० हजारसहित ट्रफी जितिन् ।

New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

एपीएफकी मीना सुनार उत्कृष्ट सपाइकर, शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, प्रगति नाथ उत्कृष्ट सेटर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, पुलिसकै पुनम चन्द उत्कृष्ट सर्भर र न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । उत्कृष्ट सबैले जनही २५ हजार पुरस्कार पाए । होटल बाराही र सारङकोट माउन्टेन लजले गिफ्ट ह्याम्पर प्रदान गरेको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

New Diamond Champion in Sher Bahadur Khadka Memorial Volleyball

विजेतालाई बागमती प्रदेश खेलकुद परिषदका सदस्य–सचिव दीपक लामा, केएनपी नेरोलेकका कन्ट्री हेड मनोजकुमार मिश्र, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्का, अध्यक्ष रञ्जन खड्कालगायतले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully