ललितपुरकी खुसी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् ।
What you should know
काठमाडौँ — ललितपुरकी खुसी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् ।
सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् । ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ र ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बनमालीलाई फाइनलमा हराए ।
आयोजक कागेश्वरी मनोहरा नगरपालिका हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जिते । राहुलले काठमाडौंका ललितबहादुर राना र सुप्रियाले रोनिशा गौतमलाई पाखा लगाए ।
जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदीप तामाङले काठमाडौंका रिडम बीसी र महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकी साइना तामाङलाई हराएर स्वर्ण जिते ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरे । प्रतियोगितामा २ सय २७ खेलाडी प्रतिस्पर्धी छन् । सिनियर/जुनियर पुरुषमा ५–५ तथा सिनियर/जुनियर महिलामा ५–५ स्पर्धा रहेको छ ।
लिगको यो दोस्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं हो । यसअघि पहिलो संस्करण लिगमा ४ प्रतियोगिता भएका थिए । हरेक संस्करणमा एक वर्षे अवधिमा तीन महिनाको अन्तरमा एउटा प्रतियोगिता भइरहेको छ ।
लिगमा हरेक तौल समूहमा पहिलो १०, दोस्रोलाई ७ र तेस्रोलाई ३ अंक प्रदान गरिन्छ । चार लिग सकिएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष/महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यकाबाहिराका खेलाडीलाई अर्को लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ । मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने जनाइएको छ ।
प्रदर्शनलाई नै मध्यनजर गरी दोस्रो संस्करणको चौथो लिग समाप्तिमा हरेक तौलमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार पुरस्कार प्रदान गरिनेछ ।
