विश्व आदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो।
What you should know
सुनसरी — तेस्रो संस्करणको अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको विश्व आदर्श कलेजले जितेको छ।
इटहरीमा शनिवार सम्पन्न फाइनल खेलमा विश्व आदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको विश्व आदर्श गत संस्करणको फाइनलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँग पराजित भएको थियो।
इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा विश्व आदर्शले दिएको १५९ रनको विजयी लक्ष्य पछ्याएको नमुना कलेज १८ ओभरमा १०७ रनमै समेटियो। नमुनाका लागि विपिन शाहले सर्वाधिक ४७ रन बनाए। राजु विकले १८ र कृष्ण विष्टले १२ रन बनाए भने अन्य ब्याटरले खासै प्रभाव जमाउन सकेनन्। विश्व आदर्शका अनिश कुँवरले महत्त्वपूर्ण ४ विकेट लिए। रोहन शाह र समीर तिम्सिनाले २–२ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन जोडेको थियो। रोहन शाहले सर्वाधिक ३७ रन बनाउँदा आकाश सर्राफले ३०, समीर तिम्सिनाले २५, आयुष ढुंगेलले १३ र रोशन खत्रीले १२ रनको योगदान दिए। नमुनाका सुबित मेहताले ३ तथा राजु विकले २ विकेट लिए।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ विश्व आदर्शका अनिश कुँवर घोषित भए। प्रतियोगिताको विजेता विश्व आदर्शले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता नमुना कलेजले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ। सर्वोत्कृष्ट खेलाडी विश्व आदर्शका कप्तान भूपाल लुइँटेल घोषित भए। अनिश कुँवर ‘बेस्ट बलर’ घोषित हुँदा रोशन खत्री ‘बेस्ट ब्याटर’ बने।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, विश्व आदर्शका प्राचार्य गणेश दुलाल, कोसी प्रिमियर लिग विजेता नमुना ब्लास्टरका मालिक धर्म न्यौपानेलगायतले पुरस्कार वितरण गरे।
इटहरी आदर्श जाइन्ट्सले पुस १९ गतेदेखि आयोजना गरेको प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज टिमले प्रतिस्पर्धा गरेका थिए।
