रुपन्देहीले आर्मी क्लब ‘ए’ लाई ४९ रनले पराजित गरेसँगै तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो।
What you should know
भैरहवा — रुपन्देही क्रिकेट संघले आयोजना गरिरहेको ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ को एक दिवसीय सिरिज अन्तर्गत शुक्रबार नेपाल आर्मीविरुद्ध दोस्रो खेलमा रुपन्देही–११ ले जित प्राप्त गरेको छ ।
सिरिज अन्तर्गतको पहिलो खेलमा पनि रुपन्देही विजयी भएको थियो। रुपन्देहीले आर्मी क्लब ‘ए’ लाई ४९ रनले पराजित गरेसँगै तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो। बुधबार भएको पहिलो खेलमा रुपन्देही ८७ रनले विजयी भएको थियो।
त्यसअघि सञ्चालन भएको दुई दिवसीय टेष्ट पनि रुपन्देहीले जितेको थियो। शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५२ रन बनायो।
उसका लागि सन्दीप रजालीले ३१, विशाल भुसालले २८, निश्चल ज्ञवालीले १७, मिर्नाल गुरुङ र अमर मिश्राले समान १३, कृष्ण कार्कीले १२ र विप्रसन केसीले १० रन बनाए।
बलिङमा आर्मीका पवन कार्कीले ४, अनिश धामीले ३ तथा घनश्याम पाण्डे, पारससिंह धामी र प्रेम गुरुङले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा आर्मीले २५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रन मात्रै बनायो । आर्मीलाई सस्तैमा समेटन बलिङमा रुपन्देहीका कृष्ण कार्कीले ४, विशाल भुसालले ३, विप्रसन केसीले २ तथा सागर गैरेले १ विकेट हात पारे।
आर्मीका निर्मल शाहीले ५१, लक्ष्मण परियारले १६ र प्रदीप पेलाले १५ रन बनाए । आर्मीका ५ खेलाडी शून्यमा आउट भएका थिए । रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भई २ हजार रुपैयाँ प्राप्त गरे।
मुलुकमै पहिलोपटक तीन वटा फर्म्याटमा दुई टीम बीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमारको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् ।
