लगातार तेस्रो जितसँगै न्यु डायमन्ड लिगको शीर्ष स्थानमा रह्यो ।
काठमाडौँ — न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड राउन्ड रोविन लिगमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ४ टिम सहभागी राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा न्यु डायमन्डले शुक्रबार डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई २५–१४, २५–१९, २०–२५, २७–२९ र १५–१० ले पराजित गर्यो ।
लगातार तेस्रो जितसँगै न्यु डायमन्ड लिगको शीर्ष स्थानमा रह्यो । न्यु डायमन्ड र प्रहरीले यो खेलअघि नै उपाधि भिडन्त पक्का गरिसकेका थिए । ३ खेलमा पहिलो हार व्यहोरेको प्रहरी लिगमा दोस्रो भयो । न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ द म्याच भइन् ।
अर्को खेल नेपाल आर्मीले एपीएफलाई २७–२५, २१–२५, २५–२१ र २५–२२ ले हराउँदै लिगमा सान्त्वना जित हात पार्यो । यी दुई टिम तेस्रो स्थानका लागि खेल्ने छन् । आर्मीकी भावना डाँगी प्लेयर अफ दि म्याच बनिन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोस्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रालि र तेस्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।
