फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप

प्रकृत, सोहम र अवानी छनोट

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Faldo Junior Tour Nepal Championship

What you should know

काठमाडौँ — प्रकृत तामाङ, सोहम अग्रवाल र अवानी राई फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा छनोट हुन सफल भएका छन् । आ–आफ्नो उमेर समूहको च्याम्पियन बन्दै उनीहरू छनोट भएका हुन् ।

प्रकृत ओभरअल र ब्वाइज १७ देखि २१ वर्ष उमेर समूहको विजेता बन्न सफल रहे । उनले शुक्रबार इभन–पार ६८ स्कोर गर्दै समग्रमा ९ ओभर २ सय १३ सहित च्याम्पियन बनेका हुन् । उनले पहिलो दुई दिनका लिडर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले हराए ।

तेस्रो दिनको सुरुआत गर्दा ३ स्ट्रोकले पछि परेका प्रकृतले फ्रन्ट नाइन १ अन्डर ३३ खेल्दा स्वप्निललाई १ स्ट्रकले पछि पारिसकेका थिए । प्रकृतले पहिलो र चौथो होलमा इगलको सफलता प्राप्त गरे । तेस्रो र छैटौं होलमा बोगी र सातौं होलमा डबल बोगी खेपे । आठौं होलमा एक सट बचाए । स्वप्निलले भने ३ ओभर ३६ मा फ्रन्ट नाइन सकाए ।

यसपछि ब्याक नाइनमा प्रकृतले १ ओभर ३५ खेले । १५ औं होलको बर्डीका विरुद्ध १४ औं र १७ औं होलमा बोगी खेपे । स्वप्निलले भने ब्याक नाइन २ ओभर ३६ खेले । दिनको खेलमा ५ ओभर ७३ खेलेका स्वप्निलले समग्रमा ११ ओभर २ सय १५ सहित दोस्रो भए । सिद्धान्त सापकोटा तेस्रो भए । उनले १० ओभर ७८ खेल्दा समग्रमा २९ ओभर २ सय ३३ स्कोर गरे ।

ब्वाइजको १२ देखि १६ वर्षको उमेर समूहमा सोहम अग्रवाल समग्रमा १७ ओभर २ सय २१ सहित पहिलो भए । शुक्रबार ११ ओभर ७९ खेलेका सोहमले रुबेन थापालाई ४ स्ट्रोकले हराए । दिनको खेलमा फ्रन्ट नाइन ५ ओभर ३९ खेलेका उनले दोस्रो, तेस्रो र पाँचौं होलमा १–१ सट खेर फाल्दा नवौं होलमा डबल बोगी प्रहार गरे । यसपछि १० औंदेखि १३ औं होल तथा १६ औं र १७ औं होलको बोगीले ब्याक नाइन ६ ओभर ४० मा सकाए ।

आज ६ ओभर ७४ खेल्दै रुबेन समग्रमा २१ ओभर २ सय २५ सहित दोस्रो भए । १२ ओभर ८० सहित समग्रमा २ सय ४५ खेलेका ड्यानियल बानियाँ तेस्रो भए ।

गर्ल्सतर्फ नेपालकी अवानी राई पहिलो भइन् । उनले बेलायतकी एमिली लो ग्लुडाइसलाई १ स्ट्रोकले पराजित गरिन् । अवानीले शुक्रबार १७ ओभर ८५ खेल्दा समग्रमा २ सय ५२ स्कोर गरिन् । दिनको खेलमा १८ ओभर ८६ खेल्दै समग्रमा २ सय ५३ सहित एमिली दोस्रो भइन् । यस्वी श्रेष्ठ तेस्रो भइन् । उनले समग्रमा २ सय ७० स्कोर गरिन् ।

खेल सुरु हुँदा अवानी र एमिली बराबरको स्कोरमा थिए । फ्रन्ट नाइनमा ३९ स्कोर गर्दै एमिलीले २ स्ट्रोकको अग्रता बनाइन् । तर ब्याक नाइनमा १३ ओभर ४७ खेलेसँगै १ स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाइन् । अवानीले फ्रन्ट नाइनमा ४१ र ब्याक नाइनमा ४४ को स्कोर निकालिन् ।

छनोट भएका प्रकृत, सोहम र अवानीले आगामी मार्चमा भियतनाममा आयोजना हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल गल्फ संघद्वारा आयोजित तीनदिने प्रतियोगितामा कुल ४१ खेलाडीको सहभागिता रहेको थियो । विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, सदस्य अर्सिया बानु, बागमती प्रदेश गल्फ संघका अध्यक्ष मदन राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई तथा कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।

कान्तिपुर

Link copied successfully