राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् ।
What you should know
काठमाडौँ — नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् ।
दुवै टोलीले बिहीबार आ-आफ्नो प्रतिद्वन्द्वीलाई समान ३-२ ले पराजित गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई २०-२५, २५-१९, २४-२६, २५-२० र १५-११ ले पराजित गर्यो ।
अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५-१६, २५-२१, १९-२५, १९-२५ र १५-७ ले हरायो । लगातार दोस्रो पराजयसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् । यसअघि प्रहरीले एपीएफलाई ३-० तथा न्यु डायमन्डले आर्मीलाई ३-० ले पाखा लगाएका थिए ।
पहिलो खेलमा प्रहरीकी उषा भण्डारी र दोस्रोमा न्यु डायमन्डकी सलिना बुढामगर ‘प्लेयर अफ दी म्याच’ बन्दै समान १५-१५ हजार नगदबाट पुरस्कृत भए ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार २ खेल हुनेछ । पहिलो खेल न्यु डायमन्ड र प्रहरीबीच हुनेछ । यो खेल नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउनेछ । दोस्रो खेलमा एपीएफले आर्मीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सहभागी ४ टिममध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । प्रहरी साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेता हो । एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, दोस्रो पुरस्कार मार्बल टेक्नोप्लास्ट प्रालि र तेस्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइनेछ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीले जनही २५ हजार नगद पाउनेछन् ।
