बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा पूर्वाञ्चल ईञ्जिनियरिङ क्याम्पस धरानलाई ६ विकेटले पराजित गर्दै आस्था सेमिफाइनल यात्रा तय गर्ने अन्तिम टोली बनेको हो।
What you should know
सुनसरी — झापा दमकको आस्था कलेज इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा पूर्वाञ्चल ईञ्जिनियरिङ क्याम्पस धरानलाई ६ विकेटले पराजित गर्दै आस्था सेमिफाइनल यात्रा तय गर्ने अन्तिम टोली बनेको हो। यसअघि विराटनगरको कान्तिपुर कलेज, इटहरीको विश्व आदर्श र नमुना कलेज अन्तिम चारमा प्रवेश गरिसकेका छन्।
इटहरीस्थित जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले १६ ओभरमा छोट्याइएको खेलमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो। अजित अटलले १७ रन बनाउँदा विवस भण्डारीले १३ र काशी सन्जेलले १२ रन बनाए। आस्था कलेजका सुगम बुढाथोकीले ३ तथा छविलाल खड्का, रञ्जन धमला र सौजन घिमिरेले समान २–२ विकेट लिए । आशिष रानाको नाममा १ विकेट रहृयो।
जवाफमा ७९ रनको विजयी लक्ष्य पाएको आस्थाले ११ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । आस्थाका सन्तोष गजमेरले १७, भुपाल दंगालले १५ र हिमान्शु गिरीले ११ रन जोडे। बलिङतर्फ पूर्वाञ्चल इन्जिनियरिङका अजित अटलले २ विकेट लिँदा काशी सन्जेल र अनुपम भुजेलले समान १–१ विकेट हात पारे। खेलको प्लेयरअफद म्याच आस्थाका सुगम बुढाथोकी घोषित भए।
प्रतियोगिताको सेमिफाइनल खेलहरु शुक्रबार हुनेछ । पहिलो सेमिफाइनलमा विश्व आदर्श र कान्तिपुर कलेज बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल नमुना र आस्था कलेज बीच हुने आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुईटेलले जानकारी दिए।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजको टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा जारी प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
