रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको ब्वाइज १७ देखि २१ वर्ष उमेर समूहमा स्वप्निल लगातार दोस्रो दिन ३ स्ट्रोकको अग्रतालाई कायमै राख्न सफल भए ।
What you should know
काठमाडौँ — फाल्डो जुनियर गल्फ टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन ओभरअलतर्फ स्वप्निल भट्टराई र सोहम अग्रवाल संयुक्त रूपमा शीर्षस्थानमा छन् । उनीहरूले ३६ होलको समाप्तिमा समान ६–ओभर १ सय ४२ स्कोर गरे । ९–ओभर १ सय ४५ को स्कोरमा प्रकृत तामाङ तेस्रो स्थानमा रहिन् ।
रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगिताको ब्वाइज १७ देखि २१ वर्ष उमेर समूहमा स्वप्निल लगातार दोस्रो दिन ३ स्ट्रोकको अग्रतालाई कायमै राख्न सफल भए । बिहीबार उनले ३–ओभर ७१ को स्कोरमा प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि पारे ।
स्वप्निलले चौथो र सातौं होलमा एक–एक सट बचाए । तर दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २–ओभर ३६ मा पूरा गरे । यसपछि ११ औं होलमा बोगी र १३ औं होलमा ट्रिपल बोगीको सामना गरे । १० औं, १४ औं र १८ औं होलको बर्डीले ब्याक नाइन १–ओभर ३५ मा सकाए ।
प्रकृतले दिनमा ३–ओभर ७१ को स्कोर गर्दा समग्रमा ९–ओभर १ सय ४५ सहित दोस्रो स्थानमा कायमै रहे । उनले फ्रन्ट नाइन २–ओभर ३६ र ब्याक नाइनमा १–ओभर ३५ को नतिजा निकाले । समग्रमा १९ ओभर १ सय ५५ को स्कोरमा सत्यजोत राणा र सिद्धान्त सापकोटा संयुक्त रूपमा तेस्रो स्थानमा रहे । दुवैले आज ८–ओभर ७६ को स्कोरमा खेल सकाए ।
ब्वाइजको ११ देखि १६ वर्षको उमेर समूहमा सोहमले पहिलो दिनका लिडर रुबेन थापालाई ९ स्ट्रोकले पछि पारेका छन् । बिहीबार सोहमले इभन–पार ६८ को स्कोर कार्ड बनाउँदा समग्रमा ६–ओभर १ सय ४२ सहित शीर्षस्थानमा उक्लिएका हुन् । सोहमले पहिलो होलमा बर्डी र चौथो होलमा इगलको सफलता प्राप्त गर्दै उत्कृष्ट सुरुवात गरे । यसपछि उनले छैंटौं र सातौं होलमा बोगी तथा आठौं होलमा डबल बोगीको समान गरेसँगै फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । यसपछि १० औं र १४ औं होलमा बर्डी प्रहार गर्दा १५ औं होलमा एक सट खेर फाले । ब्याक नाइन १–अन्डर ३३ खेले ।
पहिलो दिनका लिडर रूबेनले दिनको खेलमा १०–ओभर ७८ को प्रदर्शन गरेसँगै समग्रमा १५–ओभर १ सय ५१ सहित दोस्रो स्थानमा तल झरे । उनले फ्रन्ट नाइन ६–ओभर ४० र ब्याक नाइन ४–ओभर ३८ मा सकाए । ड्यानियल बानियाँले २०–ओभर ८८ स्कोर गरेसँगै समग्रमा २९–ओभर १ सय ६५ सहित तेस्रो स्थानमा छन् ।
गल्सतर्फ नेपालकी अवानी राई र बेलायतकी एमिली लो ग्लुडाइस समग्रमा ३१–ओभर १ सय ६७ सहित संयुक्त रूपमा शीर्षस्थानमा छन् । एमिलीले आज १९–ओभर ८७ र अवानीले २२–ओभर ९० स्कोर गरिन् । समग्रमा १ सय ८० सहित यश्वी श्रेष्ठ तेस्रो स्थानमा रहेकी छन् ।
शुक्रबार अन्तिम १८ होलको खेल हुनेछ, जहाँ ब्वाइजतर्फ दुवै स्पर्धामा समान ११ जना र महिलातर्फ ३ जनाले प्रतिस्पर्धा गर्नेछन् । नेपाल गल्फ संघद्वारा आयोजित प्रतियोगिताको तीन क्याटगोरीका विजेता खेलाडी भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया ग्रान्ड फाइनलका लागि छनोट हुनेछन् ।
