तीनपोखरी कप पुस २६ देखि खाँदबारीमा हुने

आयोजक तीनपोखरी क्लबले मंगलबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खाँदबारी रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

पुस २३, २०८२

दीपेन्द्र शाक्य

Tinpokhari Cup to be held in Khandbari from December 26

संखुवासभा — खाँदबारीमा तेस्रो संस्करणको तीन पोखरी कप फुटबल प्रतियोगिता पुस २६ देखि सञ्चालन हुने भएको छ।

आयोजक तीनपोखरी क्लबले मंगलबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खाँदबारी रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगितामा जिल्लासहित पूर्वी नेपालका आठ फुटबल टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा चुलाचुली स्पोर्टिङ क्लब झापा, बेलका युथ क्लब उदयपुर, एपीएफ पकली सुनसरीसहित संखुवासभाका टिमले प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी खाँदबारी युथ क्लब, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स क्लब, शीत्तलपाटी युथ तथा आयोजक तीनपोखरी  क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष मिनेश चापागाईंले प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास र खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५१ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ १ गते सम्पन्न हुने अध्यक्ष चापागाईंले जानकारी दिए । तीनपोखरी कपले खाँदबारीसहित संखुवासभामा खेलकुद गतिविधि थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

दीपेन्द्र शाक्य

Link copied successfully