न्यु डायमन्ड र नेपाल प्रहरीको विजयी सुरुआत

सुमित्रा रेग्मी नगद ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित

पुस २३, २०८२

कान्तिपुर संवाददाता

New Diamond and Nepal Police off to a winning start

What you should know

काठमाडौँ — न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् । दुवै टोली ३–० को सोझो सेटमा विजयी भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा सातौं संस्करणको विजेता न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१६, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्‍यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा प्रहरीले सुरुका ६ संस्करणको विजेता एपीएफ क्लबलाई सीधा सेटमा २५–२२, २५–२० र २५–२१ ले हरायो । पहिलो खेलमा न्यु डायमन्डकी सुमित्रा रेग्मी र दोस्रोमा प्रहरीकी पुनम चन्द ‘प्लेयर अफ म्याच’ घोषित भए । दुवैले जनही १५ हजार नगद पुरस्कार जिते । 

New Diamond and Nepal Police off to a winning start

प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले उद्घाटन गरे । सो अवसरमा न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतिष्ठानले नगद ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरेको थियो । सदस्य–सचिव मेहता र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सुमित्रालाई पुरस्कृत गरे ।

New Diamond and Nepal Police off to a winning start

बिहीबार दुई खेल हुनेछ । पहिलो खेल प्रहरी र आर्मी तथा दोस्रो खेल न्यु डायमन्ड र एपीएफबीच हुनेछ । राउन्ड रोविन लिगका आधारमा शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थानमा रहने टिम पुनः उपाधिका लागि भिड्नेछन् । बााकी दुई टोलीले तेस्रो स्थानलाई खेल्नेछन् ।

केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोस्रो पुरस्कार मार्बल टेक्नोप्लास्ट प्रालि र तेस्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइनेछ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully