रम्भाको सातौं राष्ट्रपति रनिङ सिल्डमा सातै पटक अमृत पब्लिक मावि पहिलो

प्रतियोगितामा अमृत पब्लिकले १२ स्वर्ण, २ रजत र ७ कास्य जितेको छ । सात वर्ष जिते पनि गएको वर्ष सिल्ड खरिद गरेकाले दोस्रो पल्ट ल्याउन पाएको अमृत पब्लिकका खेल शिक्षक अवित सारुले बताए ।

पुस २२, २०८२

माधव अर्याल

Amrit Public Secondary School wins first place in Rambha's 7th President's Running Shield for the seventh time

What you should know

पाल्पा — पाल्पाको रम्भा गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सातै पटक अमृत पब्लिक मावि पीपलडाँडा पहिलो भएको छ । अमृत पब्लिक यसअघिका हरेक वर्ष गाउँपालिकास्तरीय रनिङ सिल्ड प्रतियोगितामा पहिलो हुँदै आएको हो ।

प्रतियोगितामा अमृत पब्लिकले १२ स्वर्ण, २ रजत र ७ कास्य गरी २१ पदक जितेको छ । अघिल्लो वर्ष र यस वर्ष सिल्डको व्यवस्था गरेको छ । यसअघि रम्भामा सिल्ड नै थिएन । ट्रफी उचालेर लैजानुपर्ने व्यवस्था थियो । सात वर्ष जिते पनि गएको वर्ष सिल्ड खरिद गरेकाले दोस्रो पल्ट ल्याउन पाएको अमृत पब्लिकका खेल शिक्षक अवित सारुले बताए । 

पीपलडाँडाकै झेस्काङस्थित कृष्ण माध्यमिक विद्यालयले ८ स्वर्ण, ७ रजत र ३ कास्य जितेर दोस्रो भएको शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले जानकारी दिइन् । हुँगीस्थित जनकल्याण माध्यमिक विद्यालयले ५ स्वर्ण, ६ रजत र ६ कास्य जित्दै तेस्रो भएको छ । 

प्रतियोगिताअन्तर्गत पीपलडाँडाकै रविकिरण माविले २ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ । रम्भा मावि ताहुले १ स्वर्ण, ३ रजत, र ४ कास्य जित्यो भने सानाहुंगी मावि फोक्सिगकोटले १ स्वर्ण, २ रजत र ६ कास्य जितेको छ । संस्कृत पढाइ हुने कालीगण्डकी गुरुकुलम् हुंगी असेर्दीले १ स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । कृष्ण गण्डकी मावि हुंगी असेर्दीले ५ रजत र ३ कास्य जितेको छ । हुमिनको जनहित भगवती माविले भने पदक हात पार्न सकेन । 

रभा गाउँपालिकाको आयोजनामा कृष्ण गण्डकी माध्यमिक विद्यालय असेर्दीको समन्वयमा यस वर्ष असेर्दी खेलमैदानमा प्रतियोगिता आयोजना गरेको हो । पदक प्राप्त गर्ने विद्यार्थी तथा विद्यालय गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, वडाध्यक्ष ईश्वरी काफ्ले, लेखा अधिकृत पोष्टराज न्यौपाने, शिक्षा शाखा प्रमुख मीनादेवी आचार्य लगायले सिल्ड, मेडल र पुरस्कार प्रदान गरे । गाउँपालिकाभित्रका ८ माध्यमिक विद्यालय र कालीगण्डकी गुरुकुलमका विद्यार्थीसहित ५ सय ९२ जना विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा कबड्डी भलिबल र एथलेटिक्स विधामा छात्र र छात्रलाई प्रतिस्पर्धा गराइएको थियो ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully