प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिस र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमारको स्मृतिमा मुख्य प्रायोजन गरेका छन्।
भैरहवा — रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा सञ्चालन भएको ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत आर्मीविरुद्धको टेष्ट स्पर्धामा रुपन्देही–११ ले फराकिलो जित निकालेको छ।
रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई सोमबार १ सय १ रनले पराजित गरेको हो।
रुपन्देहीले पहिलो इनिङमा आइतबार १ सय २२ रन बनाएको थियो। आर्मीले १ सय ५५ रन बनाएको हो। यसक्रममा आर्मीका जितेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहेका थिए।
सोमबार दोस्रो इनिङमा रुपन्देहीले २ सय ५ रन बनाएर पारी घोषित गर्यो । जसमा देव खनालले ७८ र प्रज्वल थापाले नटआउट ४२ रन बनाए।
बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २–२ विकेट लिए । दोस्रो दिन रुपन्देहीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीको टिम ७१ रनमा अलआउट भयो।
आर्मीका प्रदीप पेलाले २१, जितेन्द्रसिंह ठकुरीले १७ र प्रदीप सिंह चाइसिरले १६ रन बनाए। बलिङमा रुपन्देहीका सन्देश थापा र अजयकुमार चौहानले ३–३ तथा सुरज खड्का र विशाल भुसालले १–१ विकेट लिए। अजयकुमार चौहान म्यान अफ द म्याच घोषित भए।
यी दुई टिमबीच तीन वटा फर्म्याटमा प्रतिस्पर्स्धा भइरहेको हो। दुई दिवसीय टेष्ट सकिएसँगै मंगलबारबाट वनडे सिरिजका खेल हुनेछन्।
प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिस र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमारको स्मृतिमा मुख्य प्रायोजन गरेका छन्। प्रतियोगितामा विजेता टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
