समूह ‘सी’ मा रहेको कान्तिपुर लिग चरणका दुई खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
What you should know
सुनसरी — इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा सोमबार सम्पन्न आफ्नो लिग चरणको अन्तिम खेलमा मोरङ पथरीको रेडस्टार कलेजलाई ४२ रनले पराजित गर्दै कान्तिपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।
समूह ‘सी’ मा रहेको कान्तिपुर लिग चरणका दुई खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो । यसअघि कान्तिपुरले पहिलो खेलमा जनता उच्च मावि इटहरीलाई २५ रनले पराजित गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको कान्तिपुरले खराब मौसमका कारण १७ ओभरमा छोट्याएको खेलमा २ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । उसका लागि निश्चल गुप्ता र मन्नु दासले समान ४३–४३ रन बनाए । शम्भु मण्डलले ३७ रन जोडे । रेड स्टारका सुधीर बस्नेत र अभिषेक विकले एक–एक विकेट लिए । जवाफमा १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको रेड स्टार १६ दशमलव ५ बल खेल्दै १ सय ४ रनमा समेटियो । बलिङतर्फ कान्तिपुरका सन्तोष गुप्ताले ३ विकेट लिँदा मनीष यादव र आदित्य शाहले समान २–२ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका निश्चल गुप्ता भए ।
यसअघि सोमबार नै भएको अर्को खेलमा इटहरीको विश्व आदर्श कलेजले कस्तूरी कलेजलाई २ सय ३६ रनको पराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्शले निर्धारित २० ओभरमा रोहन क्षेत्री र आकाश सर्राफको शतकीय इनिङमा १ विकेटको क्षतिमा २ सय ७८ रनको विशाल योगफल बनाएको थियो । सकुशल श्रेष्ठले १८ रन जोडे । ५९ बलको सामना गरेका ओपनर ब्याटर रोहनले १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ३ रनको अविजित पारी खेले । ५० बलको सामना गरेका अर्का ओपनर ब्याटर आकाशले १४ चौका र ६ छक्काको मद्दतमा १ सय १२ रन बनाएर सिद्धार्थ यादवको बलमा क्याच आउट भए ।
जवाफमा २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको कस्तूरी कलेज १३ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो । कस्तूरीका ६ जना ब्याटरले खाता नै खोल्न सकेनन् । आशिष अग्रवालले १५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विश्व आदर्शका भूपाल लुईंटेलले ६ विकेट लिँदा अनिश कुँवरले ४ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच आकाश सर्राफ भए ।
लगातार दोस्रो हारसँगै समूह ‘बी’ मा रहेको इटहरीको कस्तूरी कलेज प्रतियोगिताबाट बाहिरिएको छ । उक्त समूहमा रहेको सुष्मा गोदावरी र विश्व आदर्श कलेजबीच मंगलबार बिहान प्रतिस्पर्धा हुनेछ । उक्त खेल जित्ने टिम समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ । मंगलबार नै हुने अर्को खेलमा दिउँसो समूह ‘डी’ मा रहेका विराटनगरका दुई टिम महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ कलेजबीच प्रतिस्पर्धा हुने आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुर्इंटेलले जानकारी दिए ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजका टोलीको सहभागिता रहेको छ ।
