त्रिवेणी कपमा एपीएफ लगातार दोस्रोपटक च्याम्पियन

सोमबार बेंसीसहरको सहजीस्थित खेलमैदानमा भएको फाइनलमा घरेलु टोली लाङ्दीदेवी फुटबल क्लब नाल्मालाई २–० ले पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

पुस २१, २०८२

आश गुरुङ

APF wins Triveni Cup for second consecutive time

What you should know

लमजुङ — विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले बेंसीसहरमा सम्पन्न त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणको उपाधि उचालेको छ।

सोमबार बेंसीसहरको सहजीस्थित खेलमैदानमा भएको फाइनलमा घरेलु टोली लाङ्दीदेवी फुटबल क्लब नाल्मालाई २–० ले पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एपीएफले निर्णायक प्रदर्शन गर्‍यो।

खेलको दोस्रो हाफको ३१ औं मिनेटमा हरि कार्कीले बायाँ साइडबाट दिएको पासलाई युवराज खड्काले सदुपयोग गर्दै जाली चुमाए। त्यसको ८ मिनेटपछि दोस्रो हाफको ३९ औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेपछि एपीएफको जित सुनिश्चित भयो।

फाइनल खेलमा निर्णायक भूमिका खेलेका एपीएफका युवराज खड्का ‘म्यान अफ दि म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँसहित ट्रफी हात पार्‍यो। उपविजेता लाङ्दीदेवी नाल्माले ६ लाख रुपैयाँमा चित्त बुझायो। खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

यसअघि एपीएफले प्रतियोगिताको सुरुवाती चरणमै सुन्दरबजार फुटबल क्लबलाई ५–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो। त्यसपछि ठडाराई समाज र लमजुङ मर्स्याङ्दी फुटबल क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

एपीएफले गत वर्ष पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउँदै घरेलु टोली बुद्ध युथ क्लब (बीवाईसी) भोटेओडारलाई टाइब्रेकरमा ४–३ ले हराएर उपाधि जितेको थियो।

व्यक्तिगत विधातर्फ एपीएफकै समीरराज थोकर र प्रदीप लामाले समान ३–३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनीहरुले २५ हजार रुपैयाँ पुरस्कार बाँडे। थोकर सुन्दरबजारविरुद्धको खेलमा हृयाट्रिक गरेपछि सेलेब्रेसनका क्रममा घाइते भएका कारण त्यसपछिका खेलमा मैदान उत्रन सकेनन्।

सर्वोत्कृष्ट गोलरक्षक एपीएफका एन्जल श्रेष्ठ घोषित भए। सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि एपीएफकै खेलाडी सन्तोष खत्री घोषित भए। उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

विजयी खेलाडी तथा टोलीलाई आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेश वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, पूर्व सांसद जमीन्द्रमान घले, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याललगायतले पुरस्कार वितरण गरेका थिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully