त्रिवेणी कप फुटबलः चर्च ब्वाइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

लाङ्दीदेवीका रोहन कार्कर्लीले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिष गुरुङले पेनाल्टीमार्फत गोल थपेपछि लाङ्दीदेवीको फाइनल यात्रा सुनिश्चित भएको हो ।

पुस २०, २०८२

आश गुरुङ

Triveni Cup Football: Langdidevi defeats Church Boys to reach final

What you should know

बेंसीसहर, लमजुङ — ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई सहजै पराजित गर्दै लाङ्दीदेवी फुटबल क्लब नाल्मा लमजुङमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३औं संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

बेंसीसहरको सहजीस्थित खेलमैदानमा आइतबार भएको सेमिफाइनलमा घरेलु टिम लाङ्दीदेवीले चर्च ब्वाइजलाई २–० गोलले हरायो । खेलभर प्रभावशाली देखिएको लाङ्दीदेवीविरुद्ध चर्च ब्वाइजले गोल खाता खोल्न सकेन ।

लाङ्दीदेवीका रोहन कार्कर्लीले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा आशिष गुरुङले पेनाल्टीमार्फत गोल थपेपछि लाङ्दीदेवीको फाइनल यात्रा सुनिश्चित भएको हो । खेलका उत्कृष्ट खेलाडी ‘म्यान अफ द म्याच’ घोषित आशिष गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाए ।

यसअघि चर्च ब्वाइजले दुई पटकको च्याम्पियन लालीगुराँस भुजुङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

उपाधिका लागि लाङ्दीदेवीले सोमबार डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले सेमिफाइनलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङका अनुसार सोमबार मध्यान्ह १२ बजे औपचारिक कार्यक्रम र दिउँसो १ बजे फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कारमा करकट्टी हुनेछ ।

गत वर्ष सेमिफाइनलमा पराजित २ टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार यस वर्षदेखि हटाइएको आयोजकले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully