रूपन्देही–११ विरुद्ध त्रिभुवन आर्मीलाई १६ रनको अग्रता

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको रूपन्देहीले ३३ ओभर १ बल खेल्दै १ सय २२ रन मात्र बनाउन सक्यो । पहिलो इनिङमा आर्मीले ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ ।

पुस २०, २०८२

दीपेन्द्र बडुवाल

Tribhuvan Army leads by 16 runs against Rupandehi-11

What you should know

भैरहवा — रूपन्देही क्रिकेट संघको आयोजनामा आइतबारबाट भैरहवामा ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब ‘ए’ र रूपन्देही–११ बीच टेष्ट, वानडे र टी–२० गरी तीनै फर्म्याटमा स्पर्धा हुने भएका हुन् ।

पहिलो दिन आइतबार सुरु टेष्टअन्तर्गत आर्मीले रूपन्देहीविरुद्ध १६ रनकोे अग्रता हासिल गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको रूपन्देहीले ३३ ओभर १ बल खेल्दै १ सय २२ रन मात्र बनाउन सक्यो । उसका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र मिर्नाल गुरुङले १८ रन बनाए । बलिङमा आर्मीका अनिश धामीले १३ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिए । घनश्याम पाण्डेले ३ र पारससिंह धामीले २ विकेट लिए ।

पहिलो इनिङमा आर्मीले ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । आर्मीका लागि प्रदीप पेलाले ४८ र जितेन्द्रसिंह ठकुरीले ४३ रन बनाए । बलिङमा रूपन्देहीका अजय चौहान र विप्रसन केसीले ३–३, सुरज खड्काले २ र देव खनालले १ विकेट लिए । टेष्टको बाँकी खेल सोमबार हुनेछ ।

भैरहवाका व्यवसायी हरिश र सुनिल सेठियाले आफ्‌ना बुवा स्वर्गीय पवन कुमारको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टिमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए । उनका अनुसार पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते एक दिवसीय र २९, ३० र माघ १ गते टी–२० क्रिकेट सिरिज सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद‍्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले क्रिकेट खेल युवाको जीवनसँग जोडिएको बताए । क्रिकेटमा भविष्य देख्ने युवाहरूको सपना साकार पार्न प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले जनाए ।

रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले नेपालमै नौलो र ऐतिहासिक प्रतियोगिता भैरहवामा सुरु गरिएको जनाए । उनका अनुसार त्रिभुवन आर्मी क्लब ‘ए’ र रूपन्देही–११ बीच तीन विधामा ७ खेल हुनेछन् ।

दीपेन्द्र

Link copied successfully