महिला ट्वान्टी–२० विश्वकप छनोट जनवरी १४ देखि फेब्रुअरी ३ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।
काठमाडौँ — इन्दु बर्माको कप्तानीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोटका लागि आइतबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
महिला ट्वान्टी–२० विश्वकप छनोट जनवरी १४ देखि फेब्रुअरी ३ सम्म काठमाडौंमा आयोजना हुँदैछ । नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
इन्दुको कप्तानीमा रहने नेपालको टोलीमा पुजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन् ।
२० सदस्यीय टोलीलाई अन्तिममा १५ सदस्यीय बनाइएको हो । यसअघिको टोलीबाट ईश्वरी विष्ट, सोनी पाख्रिन, लक्ष्मी साउद, रुबि पोदार, साना प्रविणले नेपालको अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी र जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्ने छ । समूह ‘बी’मा रहेको नेपालले त्यसपछि जनवरी १८ मा थाइल्यान्डसँग, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ ।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । प्रतियोगिताका खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको तल्लो मैदानमा हुनेछ । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् ।
