त्रिवेणी कप फुटबल : टाइब्रेकरमार्फत एपीएफ उपाधिनजिक

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । थप १०–१० मिनेटको समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

पुस १९, २०८२

आश गुरुङ

Triveni Cup Football: APF close to title through tiebreaker

What you should know

बेंसीसहर — लमजुङ मर्स्याङ्दी क्लब इन्जुरी समयको अन्तिम क्षणमा चुक्दा साबिक विजेता विभागीय एपीएफ क्लब लमजुङमा जारी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बेंसीसहरको सहजीस्थित खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । थप १०–१० मिनेटको समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा एपीएफका अनिश घर्ती क्षेत्री, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे । दीपेश धिमाल र महेश लामा भने गोल गर्न असफल भए । मर्स्याङ्दीका अरोन थापा, विदेशी खेलाडी विलियम एलेन र निग्मा मगरले गोल गरे । पोषण थापा, अभिषेक महतो र अविनाश स्याङ्तानको प्रहार सफल हुन सकेन ।

खेलको पहिलो हाफको ४१औं मिनेटमा मर्स्याङ्दीका विदेशी खेलाडी ओलावले अफिजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४३औं मिनेटमा एपीएफका मणि लामाले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सीमित भएको थियो । तर दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेट सकिन केही सेकेन्ड बाँकी रहँदा मानबहादुर रानाले बराबरी गोल गर्दै एपीएफलाई खेलमा फर्काए ।

अब उपाधिका लागि एपीएफले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र घरेलु टोली लाङ्दीदेवी नाल्माबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको सेमिफाइनल आइतबार दिउँसो १ बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिए ।

फाइनल खेल सोमबार दिउँसो १ बजे हुनेछ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully