पोखरामा स्पोर्ट्स अवार्ड हुनुको ‘रहस्य’

पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको जवाफ भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, बृहत राष्ट्रिय खेलकुद ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

The 'secret' of holding a sports award in Pokhara

What you should know

काठमाडौँ — यसपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम २२ औं संस्करणका रूपमा आयोजना हुँदै छ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले फरक छुटिन्छ ।

यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति कार्यक्रम भए, ती राजधानी काठमाडौंमै भए । अब भने कार्यक्रम राजधानीभन्दा बाहिर पुग्ने भएको छ । 

पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको जवाफ भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, बृहत राष्ट्रिय खेलकुद । यसको सुरुआत भएको थियो, २०३८ सालमा । त्यसपछि दोस्रो संस्करण २०४० मा पोखरामै भएको थियो । अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास कोट्याउनुपर्छ, चार दशकभन्दा बढी समय अगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन् । पोखरामा नै २०७९ सालमा फेरि एकपल्ट नवौं राष्ट्रिय खेलकुद आयोजना भयो । 

त्यसो त यो राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्ट्रिय खेलकुद परिषद थियो, तर पोखरा त्यसको मुख्य आधारस्थल थियो । त्यस अर्थमा पोखरा नेपाली खेलकुदको केन्द्र हो । खेलको भाषामा भन्दा ‘स्पोर्ट्स हब’ । पोखरासँग विशाल भौतिक संरचनाहरू छ । यत्तिको संरचना अन्यत्र पाइन्न भन्दा नै हुन्छ । अझ केही खेल पोखरामै मात्र हुनसक्ने स्थितिसमेत छ । जस्तो कि केही साहसिक खेलहरू । त्यसमा सबैभन्दा अगाडि आउने नाम त प्याराग्लाइडिङ र ट्रायथलन नै भए । 

पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएको छ । उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । यस्ता खेलाडीको सूची बनाउने हो भने त्यो लामो हुने निश्चित छ । यी यस्ता केही कारण हुन्, जसले पोखरामा यसपल्टको स्पोर्ट्स अवार्ड गर्नु ठीक हो भन्ने मान्यतालाई अझ बलियो बनाउँछ । नामैले प्रस्ट छ, पल्सर मुख्य प्रायोजक रहँदै आएको अवार्ड कार्यक्रमको आयोजक हो, नेपाल खेलकुद पत्रकार मञ्च । छोटकरीमा एनएसजेएफ । 

नेपाली खेलकुद पत्रकारको छाता संगठन मञ्चको नेपाली खेलकुदको सबैभन्दा ठूलो जिम्मेवारी भन्नु नै यो अवार्ड कार्यक्रमको आयोजना गर्नु हो । मञ्चको के मान्यता छ भने यो अवार्ड कार्यक्रम अब काठमाडौंमै मात्र सीमित हुनुहुन्न । 

मञ्चको तर्क छ, यो अवार्ड कार्यक्रम मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्व नजानिँदो तरिकाले बढ्ने छ । अर्कोतर्फ आम खेलाडीलाई स्टार हुनुको महत्व पनि थाहा हुनेछ । अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये सबैको भनाइमा एउटा समानता पाइन्छ । यो हो, स्टार हुनुको अनुभव । मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् । यसैका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन् । 

यसपल्टको अवार्ड कार्यक्रम पोखरामा हुनुमा महत्त्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । उनी आफैं नेपाली खेलकुदलाई मनपराउने व्यक्ति हुन् । उनकै शब्दमा भन्ने हो भने पोखरामा अहिलेसम्म धेरैखाले गतिविधि भए । खेलकुदका ठुल्ठूला प्रतियोगिता भए, त्यसमा १३ औं दक्षिण एसियाली खेलकुद पनि पर्छ । अनि उत्तिकै संख्यामा साहित्य महोत्सव, कन्सर्ट भएका छन्, तर ठूलो मान्न मिल्ने अवार्ड कार्यक्रम भने भएको छैन । 

यसपल्टको एनएफजेएफ पल्सर अवार्ड कार्यक्रम पोखरामा भएपछि अब यस्तै खाले कार्यक्रमको बाटो पनि खुलेको छ । अब पोखराले भन्ने छ, यो सहर ठुल्ठूला अवार्ड कार्यक्रम आयोजना गर्न तयार छ । अनि सक्षम पनि छ । सम्भवतः यसपल्टको स्पोर्ट्स अवार्डले कालान्तरमा छाड्न सक्ने भाष्य भनेकै यही हो । पोखरेली समाज भन्नु नै खेलकुद मन पराउनेमा पर्छन् ।

कान्तिपुर

Link copied successfully