अपांगता भएका बालिकाका लागि धनगढीमा खेलकुद प्रतियोगिता

एक्सेस प्लानेटको आयोजनामा तथा गर्ल्स अपर्चुनिटी एलायन्सको सहकार्यमा त्रिनगर माध्यमिक विद्यालय, धनगढीमा खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।

पुस १९, २०८२

रञ्जना बिसी

Sports competition for girls with disabilities in Dhangadhi

What you should know

कैलाली — अपांगता भएका बालिका तथा किशोरीहरूको शारीरिक, मानसिक र भावनात्मक विकासलाई लक्षित गर्दै धनगढीमा खेलकुद प्रतियोगिता गरिएको छ ।

एक्सेस प्लानेटको आयोजनामा तथा गर्ल्स अपर्चुनिटी एलायन्सको सहकार्यमा त्रिनगर माध्यमिक विद्यालय, धनगढीमा खेलकुद भएको हो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अपांगता भएका व्यक्तिहरूका पक्षमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार प्रतिबद्ध रहेको विश्वास दिलाइन् । उनले अपांगता भएका बालिका तथा किशोरीहरूले खेलकुदमार्फत् आफूमा रहेको क्षमतालाई उजागर गर्नुपर्ने बताइन् । अपांगता भएका व्यक्तिलाई मध्यनजर गर्दै सबै उमेर समूहलाई समेटेर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता चालु आर्थिक वर्षभित्र आयोजना गर्ने उनको प्रतिबद्धता छ ।

'सुदूरपश्चिम प्रदेश खेलकुदको हब बन्दै गएको छ,' उनले भनिन्, 'सबै विद्यालयमा एक पटक अनुगमन गरी कुन विद्यालयलाई के आवश्यक छ  व्यापक छलफल गरेर सामूहिक रूपमा अघि बढ्नुपर्छ ।'

नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालयका महासचिव तथा नेपाल नेत्रहीन संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन रावलले खेलकुद क्षेत्रमा प्रभावकारी काम गर्न संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय सुदृढ हुन आवश्यक रहेको बताए ।

उनले अपांगता भएका व्यक्तिहरूको सहभागिता कार्यक्रमको उपस्थितिमा मात्र सीमित नराखी नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनमा अनिवार्य गरिनुपर्नेमा जोड दिए । राष्ट्रपति कप, रनिङ शिल्डलगायत पालिकास्तरीय खेलकुद कार्यक्रमहरूमा दृष्टिसम्बन्धी तथा अन्य प्रकारका अपांगता भएका व्यक्तिका लागि विशिष्टकृत खेलकुद योजना तर्जुमा गर्नुपर्ने उनको भनाइ थियो ।

Sports competition for girls with disabilities in Dhangadhi

एक्सेस प्लानेट कैलालीकी अध्यक्ष मनिषा रानाले अपांगता भएका बालिका तथा किशोरीहरूको समग्र विकासका लागि खेलकुद प्रभावकारी माध्यम भएको बताइन् । 'यस्ता खेलहरूले शारीरिक विकाससँगै आत्मविश्वास र भावनात्मक एकता पनि मजबुत बनाउँछन्,' उनले भनिन्।

प्रतियोगितामा समावेशी, दक्षिणकाली र पञ्चोदय माध्यमिक विद्यालयका किशोरीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा हाई जम्प, लङ जम्प, सफ्ट बल र दौड गरी चार प्रकारका खेलकुद भएका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, द्वितीयलाई २ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तृतीयले २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अन्य सहभागीलाई पनि सान्त्वना प्रमाणपत्र प्रदान गरिएको थियो ।

रञ्जना

Link copied successfully