अन्तरकलेज टी–२० क्रिकेटमा नमुना र जनता उच्च माविको विजयी सुरुवात

इटहरी आदर्श जायन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विश्व आदर्श कलेजलाई १ सय २ रनले पराजित गर्दै नमुनाले विजयी सुरुवात गरेको हो ।

पुस १९, २०८२

अर्जुन सुवेदी

Noma and Janata High School start with a win in inter-college T20 cricket

सुनसरी — इटहरीको नमुना कलेजले सुनसरीमा शनिबारदेखि सुरु भएको प्रदेशस्तरीय तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

इटहरी आदर्श जायन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विश्व आदर्श कलेजलाई १ सय २ रनले पराजित गर्दै नमुनाले विजयी सुरुवात गरेको हो । 

इटहरी–९ स्थित जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोशी प्रिमियर लिग विजेता नमुना ब्लास्टरको टिम नमुना कलेजले खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ५५ रनको उच्च योगफल जोडेको थियो । नमुनाका लागि कप्तान गौरव कटुवालले सर्वाधिक ४० रन बनाए । राजु विकले ३३, आदित्य लामिछानेले २३ र विपुल शाहले २१ रन जोडे ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विश्व आदर्श ७ ओभरमा सबै बिकेट गुमाउँदै ५४ रनमा समेटिएपछि नमुनाले फराकिलो जित हात पारेको हो । नमुनाका बलर हाबी भएको खेलमा प्रकाश कार्कीले ३ ओभर बलिङ गरेर मात्र ३ रन खर्चिँदै ५ विकेट लिएपछि विश्व आदर्शको इनिङ ध्वस्त बनेको थियो । यस्तै, ३ ओभर बलिङ गरेका सोबित मेहताले ७ रन खर्चिँदै ३ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच नमुनाका प्रकाश कार्की घोषित भए । शनिबार नै सम्पन्न दोस्रो खेलमा जनता उच्च मावि इटहरीले मोरङ पथरीको रेडस्टार कलेजलाई ३ विकेटले पराजित गरेको छ ।

आइतबार हुने पहिलो खेलमा इटहरीको कस्तुरी कलेज र सुष्मा गोदावरी कलेजबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल विराटनगरको कान्तिपुर कलेज र जनता बहुमुखी क्याम्पस इटहरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १२ कलेजका टोलीहरुको सहभागिता रहेको छ ।

ती टिमहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट समूह विजेताको रुपमा एउटा टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।

प्रतियोगिताले कोशी प्रदेशका कलेजहरू बीचको क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुइँटेलले जानकारी दिए ।

अर्जुन

Link copied successfully