प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई

उपाधिसँगै माछापोखरीले नगद ३ लाख २ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

पुस १९, २०८२

आनन्द गौतम

Machhapokhari wins first Manabhara Gold Cup title

ताप्लेजुङ — प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लब चाँगे  ताप्लेजुङले हात पारेको छ । फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा शनिबार सम्पन्न फाइनल खेलमा लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुङ्खिम  ताप्लेजुङलाई ३-० गोल अन्तरले स्तब्ध  पार्दै माछापोखरीले उपाधि हात पारेको हो ।

उपाधिसँगै माछापोखरीले नगद ३ लाख २ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता लालीगुराँसले  १ लाख ५२ हजार ८२ रुपियाँमा चत्त बुझाएको छ । विजेता र उपविजेतालाई कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, गाउँपालिका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष विकास साम्रा लगायतले कप, मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा माछापोखरीले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ७-१ गोलको फराकिलो अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेशग गरेको थियो भने  लालीगुराँसले नवप्रयास युथ क्लब हाङ्देवालाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।  

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धनsf साथै विश्वमा छरिएर रहेका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचारप्रसारका लागि प्रतियोगिता सञ्चालन गरिएको आयोजक मानाभारा स्पोर्टिङ क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully