तीन दिनसम्म चल्ने प्रतियोगिता हुँगीको असेर्दी खेलमैदानमा सुरु भएको हो ।
What you should know
पाल्पा — पाल्पाको रम्भा गाउँपालिकामा १७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा सातौं रम्भा गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिता हुँगीको असेर्दी खेलमैदानमा सुरु भएको हो । रम्भा गाउँपालिका भित्रका आठ माध्यमिक विद्यालय र एक गुरुकुलम् गरी नौ विद्यालयका ५ सय ९२ खेलाडी सहभागी छन् । रनिङ शिल्ड अन्तर्गत १५ खेल विद्यामा आयोजना गरिनेछ । प्रतियोगितामा छात्र र छात्रा स्वर्ण, रजत र कांस्य पदक प्रदान गरिने रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मीना आचार्यले जानकारी दिइन् ।
प्रतियोगितामा ७४ स्वर्ण, ७४ रजत, ११० कांस्य गरी २ सय ५८ पदकका लागि प्रतिस्पर्धा हुनेछ । रनिङ शिल्ड अन्तर्गत छात्रछात्राको भलिबल, कपर्दी, एथलेटिक्स (१००, २००, ३००, ४००, ८००, १५०० र ३००० मिटर दौड), हाइजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सट्पुट् लगायतका खेल खेलाइनेछ । रम्भा गाउँपालिकाका विद्यार्थीहरुको उत्साहजनक सहभागिताले रनिङ शिल्ड प्रतियोगिता गराइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
विद्यालयबाट धेरैभन्दा धेरै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सकियो भने मात्र रनिङ शिल्डमार्फत् प्रदेश र संघमा पुग्न सक्ने अध्यक्ष भण्डारीले बताए । यस्ता प्रतियोगितामा भाग लिनका लागि विद्यार्थी उत्सुक भएजस्तै प्रदेश र संघबाट पदक ल्याउन पनि उत्तिकै मिहिनेत गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने वडाध्यक्ष ईश्वर काफ्लेले बताए । सानो उमेरदेखि नै खेलप्रति रुचि राख्ने बनाउने र भविष्यमा राष्ट्रिय खेलाडी बन्न प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।
