‘राष्ट्रिय धरोहर उत्कृष्ट खेलाडी सम्मान २०८२’ मा खेलकुदतर्फ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री र खेलाडी दीपेन्द्र ढकाल सम्मानित भएका हुन् ।
काठमाडौँ — राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले ‘राष्ट्रिय धरोहर उत्कृष्ट खेलाडी सम्मान २०८२’ मा खेलकुदतर्फ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री र खेलाडी दीपेन्द्र ढकाल सम्मानित भएका छन् ।
पर्यटन बोर्ड सभाहलमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, एफएनसीसीआईका पूर्वअध्यक्ष भवानी राणाले रेफ्री ढकाललाई सम्मान प्रदान गरेका थिए ।
दीपेन्द्र ढकालले आफ्नो अन्तर्राष्ट्रिय रेफ्री र खेलाडीको रूपमा नेपाली तेक्वान्दोको नाम विश्वव्यापी फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत् सम्मान गरिएको हो । नेपाली खेलकुदको अन्तर्राष्ट्रिय स्तरमा पहिचान वृद्धि गर्नुका साथै युवा पुस्तालाई खेलकुदप्रति आकर्षित र प्रोत्साहित बनाएको संस्थाको ठहर छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७० सालदेखि नेपालको राष्ट्रिय औपचारिक पोसाकको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको राष्ट्रिय पोसाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस अभियानका क्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको थियो ।
