उनले गोकर्ण गल्फ क्लबमा प्रो र एमेच्योर दुवैतर्फको उपाधि जितेका छन् । राहुलको करियरमा यो तेस्रो उपाधि हो ।
What you should know
काठमाडौँ — एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन् । बिहीबार उनले गोकर्ण गल्फ क्लबमा प्रो र एमेच्योर दुवैतर्फको उपाधि जितेका छन् । राहुलको करियरमा यो तेस्रो उपाधि हो ।
प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा पछि पार्दै राहुलले उपाधि रक्षा गरेका हुन् । बिहीबार ४ अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४ अन्डर २ सय ७४ सहित उपाधि जिते । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को यो पहिलो प्रतियोगिता हो ।
जयरामले बिहीबार खराब प्रदर्शनसहित ५ ओभर ७७ स्कोर गरेपछि समग्रमा इभन पार २ सय ८८ सहित दोस्रो स्थानमा रहे । प्रोतर्फ पहिलो भएका जयरामले १ लाख ७० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
समग्रमा २ ओभर २ सय ९० को स्कोरमा तोरणविक्रम शाही र भुवन नगरकोटीले संयुक्त तेस्रो स्थान प्राप्त गरे । तोरणले इभन पार ७२ र भुवनले ४ अन्डर ६८ मा चौथो दिनको खेल टुंग्याए । उनीहरूले १ लाख १२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
नेपाल नम्बर एक प्रो नीरज तामाङले समग्रमा ३ ओभर २ सय ९१ को स्कोरसहित पाँचौं भए । उनले ३ अन्डर ६९ मा खेल सके । उनले ८२ हजार पाए । समग्रमा ४ ओभर २ सय ९२ को स्कोरमा भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रुबेन थापा संयुक्त छैटौंस्थानमा रहे । भुवनले ४ ओभर ७६ खेल्दा शुक्र र दिनेशले २ ओभर ७४ मा खेल पूरा गरे । उनीहरूले ६४ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
एमेच्योर रुबेनले २ अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भएका थिए । अर्का एमेच्योर साम डोबलार्ड दसौं भए । उनले १ ओभर ७३ सहित समग्रमा ८ ओभर २ सय ९६ स्कोर गरे ।
अन्तिम १८ होलको सुरु गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्टनाइन ३ अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने निश्चित जस्तै भएको थियो । राहुलले दोस्रो, तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । पाँचौ होलमा एक शट खेर फाले । यसपछि १७ औं होलको बोगीविरुद्ध १२ र १५ औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३५ मा टुंग्याए ।
जयरामले फ्रन्टनाइन इभन पार ३६ मा सक्ने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे । तर तेस्रो र सातौं होलमा शट खेर फाले । यसपछि उनले ब्याकनाइन बिर्सनलायक खेले । १० र १२ औं तथा १४ देखि १६ सम्म लगातार तीनसहित कुल ५ बोगी प्रहार गरे । यो खराब प्रदर्शनमा ब्याकनाइन ५ ओभर ४१ मा टुंग्याएका थिए ।
तोरणले फ्रन्ट र ब्याकनाइन दुवै इभन पार ३६ मा सके । फ्रन्टनाइनमा उनले सबै होलमा पार बचाए । ब्याकनाइनमा १०, १२ र १४ औं होलमा बर्डी प्रहार गरे । तर ५ पारको १५ औं होलमा डबल बोगीको सामना गर्दा १८ औं होलमा बोगी प्रहार गरे ।
भुवनले फ्रन्ट र ब्याकनाइन दुवै २ अन्डर ३४ मा टुंग्याए । उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार तीनसहित कुल ६ बर्डी प्रहार गरे । आठौं र चौधौं होलमा शट खेर फाले ।
७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गल्फरको सहभागिता थियो । कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार पाए । यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार थियो ।
विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।
