एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायमन्ड र पुलिस फाइनलमा

शुक्रबार राखेप कभर्डहलमा भएको सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

NVA Volleyball Championship: New Diamond and Police in the finals

What you should know

काठमाडौँ — न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल पुगेका छन् ।

शुक्रबार राखेप कभर्डहलमा भएको सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

न्यु डायमन्डले एपीएफलाई ३–० को सेटमा पराजित गर्‍यो । न्यु डायमन्डले पहिलो सेट २५–१७ स्कोरले सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा पनि एपीएफले पुनरागमन गर्न नसक्दा न्यु डायमन्डले २५–२० को बाजी मार्‍यो । अस्ट्रेलियाबाट आएकी प्रतिभा मालीको उपस्थिति रहेको न्यु डायमन्डले एकतर्फी तेस्रो सेट २५–७ ले आफ्नो पक्षमा पादै खेल जित्यो । न्यु डायमन्ड समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित निकाल्यो । पुलिसले पहिलो सेटमा २५–१२ को आफ्नो पक्षमा पारेको थियो । तर कडा प्रतिस्पर्धाबीच दोस्रो सेट आर्मीले ३१–२९ ले आफ्नो पक्षमा ल्याएर खेल बराबरी गर्‍यो । पुलिसले तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको थियो । पुलिस समूह ‘बी’ विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । एनभीए लिगको समेत विजेता रहेको पुलिसले काभा क्लब च्याम्पियनसिप पनि जितेको थियो ।

पुरुषतर्फ हेल्प नेपाल स्पोटर््स क्लब र त्रिभुवन आर्मी क्लबले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । हेल्प नेपालले पहिलो पुलिस क्लब र आर्मीले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।

पहिलो सेटमा संयमता गुमाउँदा पुलिस जितबाट वञ्चित भएको हो । टोलीले १३–१० को अग्रता जोगाउन नसक्दा अन्तमा पहिलो सेट हेल्प नेपाललाई २१–२५ ले सुम्पन पुग्यो । दोस्रो सेटमा पनि सुरुआती अग्रता जोगाउन नसकेको पुलिस एक समय १६–१२ ले पछि परेको थियो । त्यसपछि पुनरागमनका सबै प्रयास विफल बनाउँदै हेल्प नेपाल २५–२३ ले विजयी भयो । रोमाञ्चक प्रतिस्पर्धा भएको तेस्रो सेटमा दुवै टिमले सकेसम्म कम गल्ती गर्दै सेट आफ्नो पक्षमा पार्ने प्रयास गरेको थियो । सेटमा १०–११ र १९–१९ को प्रतिस्पर्धा हुँदै हेल्प नेपाल २५–२२ ले विजयी भयो । अन्तिम समयमा पुलिसले लगातार दुई गल्ती गर्नु नै टोलीको हारको कारण बन्यो । हेल्प नेपालले क्वाटरफाइनलमा बूढानीलकण्ठ स्पोटर््स क्लबलाई पराजित गरेको थियो ।

दोस्रो सेमिफाइनलमा ५ सेट चल्दा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रुकुम पश्चिमले २–१ ले अघि रहेको अवस्थाबाट अग्रता जोगाउन नसक्दा खेल गुमायो । तीन पाकिस्तानी खेलाडीसहित उत्रिएको रुकुम पश्चिमले पहिलो सेट २०–२५ ले गुमायो । तर दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेर खेल बराबरीमा ल्यायो ।

तेस्रो सेट २५–१५ को फराकिलो अन्तरले आफ्नो पक्षमा पारेर आर्मीलाई दबाबमा राखेको रुकुम पश्चिमले चौथो सेट भने २४–२६ ले गुमायो । चौथो सेटमा पुनरागमन गरेर आर्मीले निर्णायक सेट १५–१२ ले आफ्नो पक्षमा पारेपछि फाइनलमा स्थान बनायो । आर्मीले क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई पराजित गरेको थियो । 

कान्तिपुर

Link copied successfully