मेयर कप रात्रिकालीन टेबलटेनिस हुने

प्रतियोगितामा १७ स्पर्धामा ६ सय १६ खेलाडीको सहभागिता रहने आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Mayor's Cup to be held at night

काठमाडौँ — ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १७ स्पर्धामा ६ सय १६ खेलाडीको सहभागिता रहने आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २१ वडाबाट प्रतिस्पर्धी सहभागी हुनेछ । यो संस्करणमा एक विधा थप गरिएको छ । खुला स्थानीय जनप्रतिनिधि विधा थपिएको हो ।

ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको प्राविधिक प्रमुख निकेश जोशीले जानकारी दिए । १७ वटै विधामा नगद पुरस्कार राखिएको छ ।

अध्यक्ष शाक्यले खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २९ लाख रुपैयाँ खर्च हुनेछ । अध्यक्ष शाक्यले ललितपुर महानगरपालिका र अन्तर्गतका वडा, वडा भित्रका विभिन्न संघ संस्थालगायतको सहयोगमा बजेट व्यवस्थापन हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीले रात्रिकालीन भएकाले यो प्रतियोगिताको छुट्टै महत्व रहेको बताए ।

ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक आशिष अवालेले म्याट ओछ्याएर खेल खेलाउन ६ वटा बोर्ड प्रयोग गर्ने बताए । रात्रिकालीन साताव्यापी प्रतियोगिताका खेल कनिबहालस्थित आयोजक वडा हातामा खेलाइने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully