पाल्पाको रैनादेवी छहरा–५, स्थित कटौजेपानी खेल मैदानमा शुक्रबार सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ३ सय २४ जना खेलाडीको सहभागिता रहेको थियो ।
What you should know
पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महाकाली मावि पहिलो भएको छ ।
रैनादेवी छहरा–५, स्थित कटौजेपानी खेलमैदानमा शुक्रबार सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ३ सय २४ जना खेलाडीको सहभागिता रहेको थियो ।
गाउँपालिका भित्रका १२ मावि र दुई आधारभूत गरी १४ विद्यालयका छात्रछात्रा सहभागी प्रतियोगितामा महाकाली मावि छहराले आठ स्वर्ण, तीन रजत र ५ कांस्य गरी १६ पदकसहित पहिलो भएको हो । सोमादीको गंगा माविले ५ स्वर्ण ३ रजत र ५ कांस्य गरी १३ पदक हासिल गरी दोस्रो भएको छ । यस्तै, भैरव नवदीप माविले ४ स्वर्ण, ६ रजत र ४ कांस्य गरी १४ पदकसहित तेस्रो भएको शिक्षा शाखा प्रमुख तेज कुमालले बताए । गौरादेवी मावि जुठापौवाले तीन, गुहारठाना र सत्यवती माविले दुई/दुई स्वर्ण जितेका छन् ।
पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजयी खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल, सामाजिक विकास समितिका संयोजक प्रदीप पौडेल, शिक्षा शाखा प्रमुख तेज कुमाल लगायतले पुरस्कार तथा प्रमाणपत्र र शिल्ड प्रदान गरे । रनिङ शिल्ड प्रतियोगितामा कबड्डी, ज्याभलिन थ्रो, एथलेटिक्स, भलिबल, हाइजम्प, लंगजम्प, सटफुट लगायतका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।
खेलकुदको माध्यमबाट खेलाडीहरूले आफ्नो मात्र नभएर समाज र देशको नामलाई समेत उचाइमा पुर्याउने गाउँपालिका अध्यक्ष रुक्मागंत भट्टराईले बताए । ‘खेलकुदले अनुशासित र शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक रूपमा मानव शरीरलाई स्वस्थ राख्न सहयोग पुग्छ,’ उनले भने, ‘प्रतियोगितामा स्थान ओगट्न सफल विद्यार्थी खेलाडीहरूले प्रदेश र संघबाट समेत पदक ल्याउनुपर्छ ।’
