प्रतिस्पर्धी मिक्लाजुङ गाउँपालिकाको शिक्षक टिमलाई ३ मध्ये २ सेटमा हराउँदै फालेलुङ शिक्षकमैत्री खुल्ला भलिबलको विजेता बनेको हो ।
पाँचथर — पाँचथरको फिदिममा आयोजित शिक्षकमैत्री जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि फालेलुङ गाउँपालिकाले जितेको छ ।
प्रतिस्पर्धी मिक्लाजुङ गाउँपालिकाको शिक्षक टिमलाई ३ मध्ये २ सेटमा हराउँदै फालेलुङ शिक्षकमैत्री खुल्ला भलिबलको विजेता बनेको हो ।
जितसँगै फालेलुङले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्दा दोस्रो स्थान सुरक्षित गरेको मिक्लाजुङले २० हजार रुपैयाँ नगदसहित प्रमाण पत्रमा चित्त बुझायो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पाँचथरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहका शिक्षक सम्बद्ध भलिबल टिम सहभागी थिए ।
संगठनका कोशी प्रदेश अध्यक्ष महेन्द्र गौतमले प्रमुख अतिथिको आसनबाट उद्घाटन गरेको प्रतियोगिताका विजेता र उपविजेता टिम तथा खेलाडीलाई संगठनका कोशी प्रदेश लेखा समिति संयोजक बालकृष्ण लुइँटेल, जिल्ला अध्यक्ष खगेन्द्रराज सुवेदी, पूर्व अध्यक्ष माक्सेमहाङ नेम्वाङ, फिदिम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गजाधर भट्टराई र प्रयोजकहरू सूर्य मगर, चन्द्र काफ्ले र गोपाल लुइँटेल लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा जिल्लास्थित राजनीतिक दलका नेतासँगै शिक्षक सम्बद्ध संघ संघठन र महासंघका पदाधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्लामा भलिबल प्रतियोगिताहरू कमै मात्रामा हुने गरेकोमा शिक्षकहरूको खेल प्रतिभालाई उजागर गर्दै पेसागत एकताका लागि सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष खगेन्द्रराज सुवेदीले बताए ।
