डी– टाउन बास्केटबल एकेडेमी काभ्रेले जिल्लामै उच्चस्तरीय बास्केटबल प्रशिक्षण सुरु गरेको हो ।
What you should know
काभ्रे — काभ्रेमा डी– टाउन बास्केटबल प्रशिक्षण सुरु भएको छ ।
डी– टाउन बास्केटबल एकेडेमी काभ्रेले जिल्लामै उच्चस्तरीय बास्केटबल प्रशिक्षण सुरु गरेको हो । शुक्रबार एक समारोहकाबीच एकेडेमीले वार्षिक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । प्रशिक्षण कार्यक्रमको धुलिखेल नगरपालिकका प्रमुख अशोक व्याञ्जूले उद्घाटन गरेका हुन् । सुरुवातमा ४० जना खेलाडीलाई प्रशिक्षण दिइने एकेडेमीले जनाएको छ ।
काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, नव–प्रतिभाको पहिचान तथा युवाहरूको शारीरिक, मानसिक र नैतिक सशक्तीकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम काभ्रे बास्केटबल संघको सल्लाह र सहकार्यमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै धुलिखेलका नगर प्रमुख अशोक व्याञ्जूले धुलिखेल नगरपालिकाले बास्केटबलजस्ता खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा धुलिखेलमै व्यवस्थित बास्केटबल कोर्ट निर्माण गर्ने र खेलकुद पूर्वाधार विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापाले जिल्लामा बास्केटबल कोर्ट स्थापना गर्न स्थानीय सरकारलाई आग्रह गरे । डी–टाउन बास्केटबल एकेडेमीले संघसँगको सल्लाहमै प्रशिक्षण सुरु गरेको बताउँदै उनले प्रशिक्षणका लागि आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपानेले बास्केटबल खेलप्रति रुचि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि एकेडेमीले थालेको काम सम्मानयोग्य भएको बताए । काभ्रे बास्केटबल संघका अध्यक्ष शिव थापा मगरले खेलकुदलाई केबल प्रतिस्पर्धाको माध्यम नभई जीवन निर्माणको विद्यालयका रूपमा अगाडि बढाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए । उनले स्थानीय तह, संघ–संस्था र खेलप्रेमीहरूको साथले काभ्रेलाई बास्केटबलको महत्त्वपूर्ण केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका संयोजक वैभव कुँवरका अनुसार, प्रशिक्षण सत्रहरू बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन हुनेछन्, जहाँ अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा नियमित र व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ ।
