लाङ्दीदेवी र एपीएफ त्रिवेणी कपको सेमिफाइनलमा ।
What you should know
बेंसीसहर, लमजुङ — लमजुङको बेंसीसहरमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणमा बिहीबार ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) सडनडेथमा पराजित हुँदै बाहिरिएको छ । घरेलु टिम लाङ्दीदेवी नाल्माले एनआरटीलाई टाइब्रेकरको सडनडेथमा ९–८ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
सहजीस्थित खेल मैदानमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरको सडनडेथमा लाङ्दीदेवीले कठिन जित निकाल्दै एनआरटीको यात्रा अन्त्य गर्यो । यससँगै एनआरटी प्रतियोगिताबाट बाहिरिने काठमाडौंको पाँचौं क्लब बनेको छ । यसअघि समाज कल्याण, श्री भगवती, चित्लाङ फुटबल क्लब र सातदोबाटो युथ क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
लाङ्दीदेवीका कप्तान आशिष गुरुङसहित रणदीप पौडेल, सरोज गुरुङ, रोशन पहारी, पदम भट्टराई, सुजन डंगोल, प्रमिजाइ गच्छदार, विषण गुरुङ र गणेश हिमालले टाइब्रेकरमा गोल गरे । आदित्य शाक्यले भने गोल गर्न सकेनन् ।
एनआरटीतर्फ रोशन खड्का, सानेम लिम्बू, विज्ञान खड्का, कप्तान कृतिशरत्न छुन्जु, पुजन होना, विवेक गुरुङ, माइकल गर्बुजा र जुनियरले गोल गरे । चेतन थारु र शोता आत्सोमीको प्रहार असफल भयो ।
खेलमा लाङ्दीदेवीका प्रमिजाइ गच्छदार ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब लाङ्दीदेवीले फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र लालीगुराँस युवा क्लब भुजुङबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार दिउँसो २ बजे हुनेछ ।
यसअघि भएको अर्को क्वार्टरफाइनलमा साबिक विजेता विभागीय एपीएफ क्लबले ठडाराई समाजलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको चौथो मिनेटमै यामीले ठडाराईलाई अग्रता दिलाए पनि दोस्रो हाफको चौथो मिनेटमा प्रदीप लामाले गोल फर्काउँदै एपीएफलाई बराबरीमा ल्याएका थिए ।
टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दीपेश धिमाल, प्रदीप लामा, मणिकुमार लामा र सन्तोष खत्रीले गोल गरे । ठडाराईतर्फ आषिश चापागाईं, शिशिर लेखी, करिम र देवेन्द्र तामाङले गोल गरे । उत्सव राईको प्रहार असफल भयो ।
एपीएफका एन्जल श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पाए । अब एपीएफले फाइनल प्रवेशका लागि आयोजक त्रिवेणी युथ क्लब र लमजुङ मर्स्याङ्दीबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको प्रतिस्पर्धा शुक्रबार बिहान ११ बजे हुनेछ ।
