प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान बीच प्रतिस्पर्धा हुने छ।
धरान — कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजीपी रनिङ कप फुटबल प्रतियोगितामा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान फाइनल प्रवेश गरेको छ ।
बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा प्रभात बोर्डिङ स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलको पहिलो हाफको ७ औँ मिनेटमा प्रभात स्कुलका भुवन भण्डारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि कप्तान नेम्साङ मगरले पहिलो हाफको २० औँ र २९औँ मिनेटमा पेनाल्टीमार्फत दुई गोल गर्दै स्कोर ३–० पुर्याए।
दोस्रो हाफको २२औँ मिनेटमा पुनः भुवन भण्डारीले अर्को गोल थप्दै प्रभात स्कुललाई ४–० को सहज जित दिलाए । खेलमा पिनाकल ज्ञान मन्दिरले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका नेम्साङ मगर घोषित भए। उनलाई विशेष अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले नगद १ हजार ५ रुपैयाँ प्रदान गरेकाथिए।
प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
