इटहरी–९ स्थित नेपाल डीभीएम ग्लोबल एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डीभीएम सगरमाथाले निर्धारित १० ओभरको खेलमा २ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । जनता मावि इटहरीले भने निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ६९ रन मात्र बनाउन सक्यो ।
What you should know
सुनसरी — दोस्रो डीभीएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । इटहरीमा बुधबार सम्पन्न फाइनलमा आयोजक डीभीएम सगरमाथाले जनता माध्यमिक विद्यालयलाई १० रनले पराजित गर्दै उपाधी जितेको हो ।
इटहरी–९ स्थित नेपाल डीभीएम ग्लोबल एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डीभीएम सगरमाथाले निर्धारित १० ओभरको खेलमा २ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । डीभीएमलाई उपाधी जिताउन रिवाज बोहराले नटआउट २४ रन बनाउँदा आयुश पोखरेलले पनि नटआउट २२ रनको पारी खेले ।
८० रनको विजयी लक्ष्य पछ्याएको जनता मावि इटहरीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ६९ रन मात्र बनाउन सक्यो । जनता माविका लागि एसान खानले सर्वाधिक २३ रन बनाउँदा अंकित दासले १८ र प्रवीण मण्डलले १२ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन । ओपनर एसान र प्रवीणले पहिलो ओभरमै समान २–२ चौका प्रहार गर्दै १९ रन बटुल्दै उत्कृष्ट सुरुवात गरे पनि जनताको इनिङ पाँचौं ओभरपछि धर्मराएको थियो । पाँचौं ओभरमा बलिङ गर्न आएका आदित्य पौडेलले केवल चार रन खर्चिएपछि जनता मावि दबाबमा आएको थियो ।
म्यान अफ द फाइनलसमेत बनेका आदित्यले अन्तिम ओभरमा पनि कसिलो बलिङ गर्दै ४ रन मात्र खर्चिएर एक विकेट लिएका थिए । छैटौं ओभरमा १० तथा सातौं ओभरमा ६ रन जोडे पनि आठौं ओभरको तेस्रो बलमा जनता माविका कप्तानसमेत रहेका ओपनर ब्याटर एसान खानलाई डेनिस बुढाथोकीले बोल्ड आउट गरेपछि डीभीएमको जित सुनिश्चित भएको थियो ।
विजेता टिम आयोजक डीभीएम सगरमाथाले नगद २५ हजार र उपविजेता जनता माविले १५ हजार रुपैयाँ र ट्रफी पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जनता माविका एसान खान भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाए । डीभीएमका ग्रिस भट्टराई उत्कृष्ट ब्याटर, दिवश विष्ट उत्कृष्ट बलर र क्षितिज तिम्सिना उदीयमान खेलाडी घोषित भए । कोसी सेन्टजेम्सका रोमनराज अधिकारी उत्कृष्ट फिल्डर बने । उनीहरू सबैले जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार हात पारे ।
रामधुनीको युनिक एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्दै नगद ३ हजार रुपैयाँ जित्यो । विजेता तथा उपविजेता टिमलाई कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, इटहरी–९ का वडाअध्यक्ष जितेन्द्र थापा, डीभीएम स्कुलका प्राचार्य वेणुप्रसाद सिटौला लगायतले पुरस्कार प्रदान गरे ।
सुनसरीमै पहिलोपटक विद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगितामा मोरङ र सुनसरीका १९ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
