बेल्कोटगढी नगरपालिका–५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
What you should know
काठमाडौँ — नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजनामा दसौं झिल्टुङ क्रसकन्ट्री दौड माघ १० मा हुने भएको छ ।
बेल्कोटगढी नगरपालिका–५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
खुला पुरुष/महिला, पुरुष भेट्रान र स्थानीय पुरुषमा १३.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्
स्थानीयको यू–१८ र यू–१६ छात्र/छात्रा तथा आमा/बुवा समूहको स्पर्धा पनि समावेश छ । ४.५ किलोमिटर दूरीको हरेक स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १८ हजार, १२ हजार र ८ हजार पुरस्कार पाउने छन् । ‘वाक एन्ड टक’ विधा पनि राखिएको छ ।
पत्रकार सम्मेलनमा बेल्कोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङ र उपमेयर शिवप्रसाद दाहालले आगामी संस्करणदेखि दौडको दायरा अझ फराकिलो बनाउने योजना रहेको चर्चा गरे ।
वडा ५ का अध्यक्ष मदन भुजेलले चर्चित खेलाडीको सहभागिताले गर्दा दौडको गरिमा अझ बढेको बताए । दौडका संस्थापक मोहन नेपालले दौडलाई सफल बनाउन स्थानीयको विशेष सहयोग रहेको बताउँदै दौडबारे प्रकाश पारे । संस्थापक नेपालकै अग्रसरतामा दौड सुरुआत भएको थियो ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष तथा रेस डाइरेक्टर राजन खत्रीले झिल्टुङ नेपालको कठिन दौडमध्ये एक भएको बताए । उनले दौडमा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको बताए ।
दौड कोल्पुटारबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः कोल्पुटारमै आएर टुंगिनेछ ।
