उपाधि रक्षा गर्ने लक्ष्यसहित राहुलद्वारा फ्रन्टनाइनमा मंगलबार ३ अन्डर ३३ स्कोर बनाए।
What you should know
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनमा लगातार दोस्रो दिन पनि अग्रता कायर्म राखेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलबार राहुलले ५ अन्डर ६७ को स्कोर बनाए ।
समग्रमा ११ अन्डर १ सय ३३ को स्कोरसहित राहुलले प्रोफेसनल गल्फर भुवनकुमार रोक्कालाई ७ स्ट्रोकले पछि पारेका छन् । भुवन समग्रमा ४ अन्डर १ सय ४० सहित दोस्रो स्थानमा उक्लिए । उनले मंगलबार ५ अन्डर ६७ स्कोर गरे । इभन पार ७२ खेलेका जयराम श्रेष्ठ समग्रमा १ अन्डर १ सय ४३ को स्कोरसहित तेस्रो स्थानमा तल झरे ।
समग्रमा १ ओभर १ सय ४५ को स्कोर बनाएका भुवन नगरकोटी चौथो स्थानमा उक्लिए । उनले इभन पार ७२ मा दिनको खेल टुंग्याए । समग्रमा २ ओभर १ सय ४६ को स्कोर बनाएका नेपाल नम्बर एक प्रो नीरज तामाङ (६९), शुक्रबहादुर राई (७१), दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) ले संयुक्त पाँचौं स्थान ओगटेका छन् । ४ ओभर १ सय ४८ स्कोरमा रवि खड्का (७१), प्रदीपकुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्त आठौं स्थानमा रहे ।
उपाधि रक्षा गर्ने दाउमा रहेका राहुलले फ्रन्टनाइनमा ३ अन्डर ३३ खेले । उनले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे भने चौथो र छैटौं होलमा बोगी खेपे । यसपछि १०, ११, १३ र १४ औं होलमा शट बचाए । तर १५ र १६ औं होलमा लगातार दुई बोगी प्रहार गरे । यसले उनी ब्याकनाइन २ अन्डर ३४ मा टुंग्याए ।
भुवनले ५ अन्डरको स्कोर बनाउने क्रममा फ्रन्टनाइन २ अन्डर ३४ खेले । पहिलो, तेस्रो, पााचौं र आठौं होलमा चार बर्डी प्रहार गरे । बोगीरहित ब्याकनाइन खेल्ने क्रममा १२, १६ र १८ औं होलमा बर्डी प्रहार गरे । उनले ब्याकनाइन ३ अन्डर ३३ मा टुंग्याए । जयरामले फ्रन्टनाइन १ अन्डर ३५ र ब्याकनाइन १ ओभर ३७ मा पूरा गरे । तेस्रोदेखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गरे । तर आठौं होलमा डबल बोगी खेपे ।
११ ओभर १ सय ५५ स्कोर गरेका १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट बनाएका छन् । प्रोतर्फ सूर्यप्रसाद शर्मा, तोरणविक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धनबहादुर थापा, टंकबहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाएका छन् ।
एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाएका छन् । ११ ओभर १ सय ५५ स्कोर बनाए पनि काउन्टब्याकमा एमेच्योर वाङचेन ढोन्डुपसँगै भीमसेन चौलागाईं, सञ्जय लामा र सविन सापकोटाले कट बनाउन सकेनन् ।
