शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
काठमाडौँ — अल नेपाल स्पोर्ट्स फाउन्डेसनले नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ मा गर्ने भएको छ ।
शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । खेलाडीको वृत्तिविकासमा योगदान पुर्याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा स्थापित गर्न च्याम्पियनसिप गरिएको आयोजक समितिका सचिव नोर्बु लामाले बताए ।
प्रतियोगितामा २ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसमा ८ पुरुष र ८ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा सुमित विष्ट, सुजन गुरुङ, हरिश बोहरा, रुमिन राउत, एलेन आले, अभिषेक डल्लाकोटी, अबताब आलम र अम्बिका घिमिरे छन् । महिलामा आरती शाही, इशा महतो, रक्षा धिमाल, गीता कठायत, जानुका बिक, कञ्चन खड्का, वीणा नाथ र पासाङ लामाबीच प्रतिस्पर्धा हुनेछ ।
उनीहरू १३ औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडी हुन् । च्याम्पियनसिपमा सञ्जीवकुमार ओझा, सुरेन्द्र शाही, लालबहादुर बरामु र वीरबहादुर महराले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।
प्रतियोगितामा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार पाउने सचिव लामाले बताए ।
