खुसी साट्न र नयाँ वर्षलाई स्वागत गर्न बुटवलमा कन्सर्ट ।
What you should know
बुटवल — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्स ट्रफी सेलिब्रेसनका लागि बुधबार बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लामा विजय उत्सव गर्दै टोली बुटवल आइपुगेको हो । लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट पनि गर्दै छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुरअन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्लामा पुगेर उत्सव गर्दै बुटवल आइपुगेको बताए । उनले लुम्बिनी प्रदेशका सबै जिल्लाको भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास सफल भएको बताए ।
‘लुम्बिनीका सबै जिल्लामा पाएको सम्मान र क्रिकेटप्रतिको चासोले हामी अत्यन्तै उत्साहित भएका छौं,’ उनले भने, ‘त्यही खुसी साट्न बुटवलमा कन्सर्टको आयोजना गरिएको हो ।’ नयाँ वर्ष सन् २०२६ लाई स्वागत गर्ने गरी बुटवल मण्डपमा बुधबार साँझ ७ बजेबाट सुरु हुने कन्सर्ट राती १२ बजेसम्म चल्ने उनले बताए ।
कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्यान्ड, बद्री पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल, तेरिया पुन मगरलगायतले प्रस्तुति दिने कन्सर्ट कार्यक्रममा संयोजक शीतल शर्माले बताए । क्रिकेटसँग जोडिएका खेलप्रेमी तथा लायन्सका समर्थकको सम्मान र खुसीयाली साट्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कन्सर्ट हेर्ने दर्शक तथा खेलप्रेमीहरुका लागि सुनवल, भैरहवा र सालझण्डीबाट आउन र राती जानका लागि निःशुल्क बसको व्यवस्था गरिएको आयोजकले जनाएको छ । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।
