३५ वर्षमाथि समूहमा जीतेन्द्र च्याम्पियन
पोखरा — आयुषमान हजुर घलेलाई फाइनलमा पराजित गर्दै भारतबाट आएका नेपाली खेलाडी करणबहादुर थापाले २२ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको मेन्स सिंगल्सतर्फको उपाधि जितेका छन् । पोखरा रंगशालामा बुधबार उनले घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गरे ।
उनले ८० रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा चित्त बुझाएका आयुषमानले ४० हजार रुपैयाँ पाए । ३५ वर्ष माथिको मेन्स सिंगल्समा जीतेन्द्र परियारले बाजी मारे ।
फाइनल सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उनले उक्त उपाधि आफ्नो नाम गराएका हुन् । जीतसँगै जीतेन्द्रले ६० हजार र सन्तोषले ३० हजार रुपैयाँ प्राप्त गरे । यसअघि बिहीबार वुमन्स सिंगल्सतर्फ शिभाली गुरुङले उपाधि जितेकी थिइन् ।
विजयी खेलाडीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले पुरस्कार प्रदान गरे । उक्त अवसरमा उनले यसअघि टेनिस खेलाडीको रुपमा १८ वटा संस्करणमा भाग लिएको स्मरण गरे । कास्की जिल्ला टेनिस संघको आयोजनामा १३ पुसदेखि प्रतियोगिता सुरु भएको थियो ।
उक्त अवसरमा नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । खड्का दुई वर्षका लागि पौडेलका टेनिस प्रशिक्षकका रुपमा रहनेछन् ।
