डीआईजीपी रनिङ कप : नेपाल पुलिस फाइनलमा

बुधबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पुस १६, २०८२

एलिना राई

DIGP Running Cup: Nepal Police in the finals

धरान — कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डीआईजीपी रनिङ कप फुटबल प्रतियोगिताको सातौं संस्करणअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आयोजक टिम नेपाल पुलिस स्कुल (रातो) फाइनलमा प्रवेश गरेको छ ।

बुधबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेण्डरी स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलको दोस्रो हाफमा नेपाल पुलिसले प्रभावशाली प्रदर्शन गर्दै निर्णायक तीन गोल गरेको हो । २१औं मिनेटमा विप्लव थापाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ३५औं मिनेटमा समीर राई र ३६ औं मिनेटमा विकास मगरले एक–एक गोल थपे । सिद्धार्थ सेकेण्डरी स्कुलले खेल अवधिभर गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको ‘म्यान अफ द म्याच’ नेपाल पुलिसका विकास मगर भए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ तथा उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैंचा, मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully