अब चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि लालीगुराँस भुजुङसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिवेणीले छिमेकी क्लब लमजुङ मर्स्याङ्दीको सामना गर्नेछ ।
What you should know
बेंसीसहर, लमजुङ — लमजुङको बेंसीसहरमा जारी ३३औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र आयोजक त्रिवेणी युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सहजीस्थित खेल मैदानमा बुधबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले बुद्ध युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट तय भएको हो ।
चर्च ब्वाइजका विवेक राई, विदेशी खेलाडी अब्दुल फुरुनी, सुदीप मगर, मनोज राई र सञ्जोग खपाङ्गी मगरले गोल गरे । बुद्धका राम थापामगर, सीमन्त थापा र शिशस थापाले गोल गरे । लक्षु थापामगर गोल गर्न चुके । यो खेलमा चर्च ब्वाइजका गोल किपर रेम्बो चौधरी म्यान अफ दी म्याच भए ।
चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि अब लालीगुराँस भुजुङसँग प्रतिस्पर्धा गर्नेछ । लालीगुराँसले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
यसअघि भएको अर्को खेलमा आयोजक त्रिवेणी युवा क्लबले श्री भगवती फुटबल क्लबलाई २–० ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्यो । त्रिवेणीका प्रताप राई नायक बने । उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको ६७औं मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे । उनै प्रतापले म्यान अफ दी म्याचको उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
अब त्रिवेणीले सेमिफाइनल प्रवेशका लागि छिमेकी क्लब लमजुङ मर्स्याङ्दीको सामना गर्नेछ । लमजुङ मर्स्याङ्दीले चितवनको सूर्यपुरलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
यससँगै प्रतियोगिताबाट काठमाडौंका चारवटा क्लब बाहिरिएका छन् । श्री भगवती बाहिरिँदा यसअघि समाज कल्याण, चित्लाङ फुटबल क्लब र सातदोबाटो युथ क्लब प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
