त्रिवेणी कप फुटबलः लाङ्दीदेवी नाल्मा क्वाटरफाइनल प्रवेश

सहजीस्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा लाङ्दीदेवी नाल्माले चित्लाङ फुटबल क्लब काठमाडौंलाई १–० गोलले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो।

पुस १५, २०८२

आश गुरुङ

Triveni Cup Football: Langdidevi Nalma advances to quarterfinals

लमजुङ — लमजुङको बेसीसहरमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणमा लाङ्दीदेवी नाल्मा क्वाटरफाइनल प्रवेश गरेको छ ।

मंगलबार सहजीस्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा लाङ्दीदेवी नाल्माले चित्लाङ फुटबल क्लब काठमाडौंलाई १–० गोलले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो।

राष्ट्रिय लिग छनोट भइसकेको चित्लाङ फुटबल क्लबविरुद्ध लाङ्दीदेवी नाल्माका लागि विदेशी खेलाडी रिचर्ड विल्सन एडजज नायक बने। उनले दोस्रो हाफको उत्तरार्ध ४१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसंगै लाङ्दीदेवी नाल्मा प्रतियोगिताको क्वाटरफाइनल पुग्ने छैटौं टिम बनेको छ। सेमिफाइनलमा स्थान बनाउन उसले न्यूरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

खेलमा निर्णायक गोलकर्ता रिचर्ड विल्सन एडजज म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए।

आयोजकका अनुसार मंगलबार तमू ल्होसार तथा साँझ त्रिवेणी साँझ एवम् सडक महोत्सव आयोजना गरिने भएकोले एक खेल मात्र सञ्चालन गरिएको हो।

बुधबार प्रतियोगिता अन्तर्गत बिहान ११ बजे श्री भगवती फुटबल क्लब टोखा काठमाडौं र आयोजक त्रिवेणी युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ।

दिउँसो २ बजे चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र बुद्ध युथ क्लब भोटेओडार आमनेसामने हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully