माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिभाली च्याम्पियन

पुरुषतर्फ करण र आयुष्मान फाइनलमा

पुस १५, २०८२

दीपक परियार

Shivali becomes champion in women's category at Machhapuchhre Tennis

What you should know

पोखरा — पोखरामा जारी २२औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिभाली गुरुङ च्याम्पियन बनेकी छन् । 

पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा शिभालीले नेपाल शीर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाम गराइन् ।

मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सीमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफूलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदीपले दोस्रो र तेस्रो सेट क्रमशः ६–४, ६–२ ले गुमाए । 

अर्को सेमिफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करणबहादुर थापाले राजवीर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । यससँगै प्रतियोगिताको मुख्य इभेन्ट मेन्स सिंगल्सको उपाधिका लागि आयुषमान र करणको भेट पक्का भएको हो ।

५५ वर्षभन्दा माथिको पुरुष एकलतर्फ चन्द्र शाही पहिलो भएका छन् । जीवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै उनले उपाधि रक्षा गरेका हुन् । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्ष माथि सिंगल्समा पूर्व नेपाल नम्बर १ जीतेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । 

मंगलबार सम्पन्न सेमिफाइनलमा जीतेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भीष्मजंग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताका फाइनल खेल बुधबार हुनेछन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully