सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टिक लेक फ्रन्टका अध्यक्ष सुनीलबहादुर भट्टराईले हस्ताक्षर गरे ।
What you should know
काठमाडौँ — पुस २३ मा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करणका लागि पोखराको म्याजेस्टिक लेक फ्रन्ट अफिसियल होटलको रूपमा रहने भएको हो ।
काठमाडौंबाहिर पहिलो पटक हुन लागेको अवार्ड कार्यक्रममा उपस्थित हुने खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र अतिथिको आवासको प्रबन्ध गर्न पोखरा लेकसाइडमा रहेको ‘म्याजेस्टिक लेक फ्रन्टसँग प्रायोजन सम्झौता भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टिक लेक फ्रन्टका अध्यक्ष सुनीलबहादुर भट्टराईले हस्ताक्षर गरे । सम्झौताअनुसार अवार्डका क्रममा अवार्डको मुख्य सचिवालय पनि म्याजेस्टिक लेक फ्रन्टमा रहनेछ ।
म्याजेस्टिकका अध्यक्ष भट्टराईले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग पोखरामा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘राजधानीबाहिर पहिलो पटक हुने अवार्डमा आफ्नो होटल जोडिन पाउनु गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । ’
नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्त्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को तयारी तीव्र भइरहेको मञ्चले जनाएको छ ।
यो अवार्ड खेलाडीले अघिल्लो वर्षभर गरेको प्रदर्शनका आधारमा प्रदान गरिन्छ । १० विधामा अवार्ड प्रदान गरिने छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यति एयरलाइन्सको साथ थपिएको छ । स्पोर्ट्स अवार्ड प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको छ भने भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल छन् ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको डिजिटल भोटिङ पनि जारी रहेको मञ्चले जनाएको छ । प्रतिस्पर्धामा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन् ।
