अन्तरपालिका भलिबलको उपाधि पाँचखपनले जित्यो 

खेलमा पाँचखपनले २५–२२, २५–१७ र २५–२० को स्पष्ट स्कोरसहित षडानन्दलाई दबाबमा राख्दै उपाधि कब्जा गर्‍यो । खेल अवधिभर पाँचखपनका खेलाडीको तालमेल, आक्रामक खेल र डिफेन्स निर्णायक बन्यो ।

पुस १५, २०८२

दीपेन्द्र शाक्य

Panchkhapan wins intercity volleyball title

संखुवासभा — खाँदबारी–४ स्थित सेकाहामा सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । 

मंगलबार सम्पन्न फाइनल खेलमा पाँचखपनले भोजपुरको षडानन्द नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै शानदार जित हात पारेको हो । खेलमा पाँचखपनले २५–२२, २५–१७ र २५–२० को स्पष्ट स्कोरसहित षडानन्दलाई दबाबमा राख्दै उपाधि कब्जा गर्‍यो । खेल अवधिभर पाँचखपनका खेलाडीको तालमेल, आक्रामक खेल र डिफेन्स निर्णायक बन्यो ।

प्रतियोगितामा खाँदबारी नगरपालिका र आयोजक सेकाहा क्लब सेमिफाइनल चरणमै सीमित भए । विजेता तथा उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई र सिक्किम सरकारका पूर्वपर्यटनमन्त्री गर्जमान गुरुङले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

सेकाहा महोत्सवको अवशरमा सेकाहा सामुदायिक विकास क्लबले आयोजना गरेको प्रतियोगितामा उपाधिसँगै पाँचखपन नगरपालिकाले नगद एक लाख पायो । उपविजेता षडानन्द नगरपालिकाले नगद ५० हजारमा चित बुझाएको छ ।  सेमिफाइनलमा पुगेका खाँदबारी नगरपालिका र सेकाहा क्लबले जनही नगद २०–२० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दीपेन्द्र शाक्य

Link copied successfully