कप्तान पौडेलको गृहजिल्लामा एनपीएल ट्रफीको भव्य स्वागत

गृहनगर बर्दघाटस्थित पौडेलको घरमा मंगलबार एक कार्यक्रमका बीच नगरपालिका, विभिन्न संघसंस्था र समर्थकले हर्ष–उल्लासका साथमा ट्रफीको स्वागत गरेका हुन् ।

पुस १५, २०८२

नवीन पौडेल

NPL trophy receives grand welcome in Captain Poudel's home district

परासी — एनपीएल सिजन–२ को उपाधि जितेको लुम्बिनी लायन्सको टोलीलाई कप्तान रोहित पौडेलको गृहजिल्ला नवलपरासीमा भव्य स्वागत गरिएको छ ।

गृहनगर बर्दघाटस्थित पौडेलको घरमा मंगलबार एक कार्यक्रमका बीच नगरपालिका, विभिन्न संघसंस्था र समर्थकले हर्ष–उल्लासका साथमा ट्रफीको स्वागत गरेका हुन् । सोही अवसरमा बर्दघाट नगरपालिकाले लुम्बिनी लायन्स एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलका बुवाआमा र परिवारलाई पनि सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले नगरमा क्रिकेट रंगशाला निर्माण गर्ने खेलाडीलाई हौसला र आवश्यक सहयोग गर्ने बताए । ट्रफीलाई बर्दघाट नगरपालिका, जिल्ला क्रिकेट संघ, विभिन्न संस्था र समर्थकले नगरका विभिन्न क्षेत्र परिक्रमा गराएका थिए । ट्रफी लिएर फोटो खिचाउनेको भीड लागेको थियो । 

बन्द प्रशिक्षणमा भएका कारण कप्तान पौडेल भने उपस्थित हुन नपाएको जिल्ला क्रिकेट संघ पश्चिम नवलपरासीका सदस्य अनुप पाठकले बताए । ट्रफीसहित टोली आजै भैरहवा हुँदै लुम्बिनी पुगेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully