डीभीएम कप अन्तर विद्यालय क्रिकेट : उपाधिका लागि आयोजक र जनता मावि भिड्ने

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै आयोजक डीभीएम सगरमाथा र जनता माविले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् ।

पुस १५, २०८२

अर्जुन सुवेदी

DVM Cup Inter-School Cricket: Organizers and Janata Mavi to clash for the title

What you should know

सुनसरी — इटहरीमा जारी दोस्रो डीभीएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आयोजक र जनता मावि प्रतिस्पर्धा गर्ने भएका छन् ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै आयोजक डीभीएम सगरमाथा र जनता माविले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । 

पहिलो सेमिफाइनलमा इटहरीको जनता माविले रामधुनीको युनिक एकेडेमीलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । इटहरी–९ स्थित नेपाल डीभीएम ग्लोबल एकेडेमीको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको युनिक एकेडेमीले निर्धारित १० ओभरमा ३ विकेटको गुमाउँदै ७७ रनको स्कोर बनाएको थियो । उसका लागि एडिन हुमागाईंले नटआउट ३३ रन बनाउँदा विशाल गोसाईंले २० रन जोडे । जवाफमा ७८ रनको विजयी लक्ष्य जनता माविले ८ दशमलव ५ बलमा केवल १ विकेट गुमाउँदै पूरा गर्‍यो । जनतालाई उपाधि नजिक पुर्‍याउन एसान खानले ४३ रनको अविजित पारी खेले । प्रवीण मण्डलले १५ रन बटुले । उक्त खेलमा ७ चौकाको मद्दतमा ४३ रन जोड्नुका साथै एक विकेटसमेत लिन सफल भएका एसान प्लेयर अफ द म्याच घोषित भए । उनलाई सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले नगद १ हजार रुपैयाँ र टफी प्रदान गरे । 

मंगलबार नै सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा आयोजक डीभीएम सगरमाथाले कस्तुरी एकेडेमीलाई ३९ रनले पराजित गर्दै जनता माविसँगको उपाधि भिडन्त सुनिश्चित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको डीभीएम सगरमाथाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ८७ रनको योगफल खडा गरेको थियो । उसका लागि आयुष पोखरेलले ३५ रनको उत्कृष्ट इनिङ खेले । जवाफमा ८८ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको कस्तुरी एकेडेमी पूरै १० ओभर खेल्दै ७ विकेट गुमाएर ४८ रनमा सीमित भयो । उक्त खेलको प्लेयर अफ द म्याच डीभीएमका आदित्य पौडेल घोषित भए । उनलाई कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल र पूर्व खेलाडी सुमन पौडेलले नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

सुनसरीमै पहिलो पटक विद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । मोरङ र सुनसरीका १९ विद्यालय सहभागी प्रतियोगिताका विजेताले नगद २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ र विधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully